स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

दमौली, २७ जेठ ।
कोभिड सङ्कटमा सामाजिक उत्तरदायित्व वहन गर्दै तनहुँ उद्योग वाणिज्य सङ्घले जिल्लाका विभिन्न पालिका, अस्पताल र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियान अन्तर्गत रु दश लाख बराबरको सहयोग गरेको हो । सङ्घले रु तीन लाखबाट शुरुआत गरेको कोषमा हालसम्म रु ११ लाख सङ्कलित छ । देश तथा विदेशबाट शुभेच्छुकहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको सङ्घकाअध्यक्ष पविन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सङ्घले व्यास नगरपालिका, म्याग्दे, ऋषिङ, आँबुखैरेनी गाउँपालिका सहित बन्दीपुर, पुरनडिही , दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री वितरण गरेको छ भने कालीभञ्जन गण (इ) र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका लागि पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । स्वास्थ्य सामग्री वितरण अभियान जारी रहेको उहाँले बताउनुभयो । ती पालीका तथा अस्पताललाई आवश्यक अक्सिजन सिलिन्डर, पिपिई, अक्सिमिटर, फेसशिल्ड, हेडक्याप, थर्ममिटर, मास्क, स्यानिटाइजर, डस्टविन, गमबुट लगायतका सामग्री उपलब्ध गराइएको हो ।रासस