पछिल्लो दशकमा हावी भएका खेलाडी पारस खड्का

पछिल्लो दशकमा हावी भएका खेलाडी पारस खड्का

काठमाडौं २७ पुस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले वर्ष २०७६ भर गरेको उत्कृष्ट प्रदर्शन र प्राप्त उपलब्धीको आधारमा यही पुस २८ गते एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७६ आयोजना गर्दैछ ।

विक्रम संवत् २०५३ सालदेखि सुरु भएको अवार्डको यो १७औं संस्करण हो । दोस्रो संस्करण आयोजनाका लागि २०६० सालसम्म कुर्नुपरे पनि त्यता निरन्तर अवार्ड हुँदै आएको छ ।विनाशकारी भूकम्पका कारण २०७१ सालको अवार्ड कार्यक्रम भने आयोजना हुन सकेन । यस पटक पनि कोरोना महामारीले गर्दा नेपाली खेलकुद प्रभावित बन्यो । तर २०७६ सालमा नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ठूला प्रतियोगिता खेलेको र महत्वपूर्ण उपलब्धी हासिल गरेकाले पनि एनएसजेएफले ढिलै भएपनि अवार्ड कार्यक्रम आयोजना गर्दैछ ।

खेलाडी र खेलकर्मीलाई सम्मान गर्ने यस अवार्ड नेपाली खेलकुदकै सबैभन्दा ठूलो अवार्ड हो । २०५४ सालमा वर्ष खेलाडी पुरुष, महिला, वर्ष प्रशिक्षक र लाइफटाइम अचिभमेन्ट गरी चार विधाको अवार्ड वितरण गरिएको थियो । अहिले अवार्डको विधा थपिएर १० पुगेको छ ।

२०६० सालमा फेरि अवार्ड सुरु हुँदा महिला र पुरुष उत्कृष्टलाई मात्र अवार्ड दिइयो । २०६१ मा युवा विधा थप भयो । २०६२ मा महिला, पुरुष, युवा, प्रशिक्षक र लाइफटाइमसहित ५ विधा बन्यो । यसयता भने अवार्डमा विभिन्न विधा थपिँदै आएको छ । २०६३ मा स्पेशल विधा थपिँदा २०६४ मा पनि ६ विधा निरन्तर रह्यो । २०६५ मा लोकप्रिय विधा थप गरियो र ७ विधा पुग्‍यो ।

२०६७ मा अझ दायरा फराकिलो भयो । पारा एथलिट अवार्ड थपियो । यस्तै साहसिक अवार्ड र जादुयी अवार्ड पनि वितरण गरिएको थियो ।

अवार्डको पहिलो संस्करणमा फुटबलका देवनारायण चौधरी र तेक्वान्दोकी संगीना वैद्य विजयी भएका थिए ।

२०६० र ६१ मा एथ्लेटिक्सका राजेन्द्र भण्डारीले लगातार दुई पटक अवार्ड जित्दै दबदबा बनाए । २०६२ क्रिकेटर विनोद दासले अवार्ड जिते । २०६३ र २०६४ मा तेक्वान्दोमा दिपक विष्ट हावी बने । राजेन्द्रपछि लगातार दुई अवार्ड जित्ने खेलाडी बने विष्ट ।

त्यसपछि चार संस्करणमा फरक फरक खेलाडीले अवार्ड जिते । २०६५ मा फुटबलर जुमानु राई, २०६६ मा क्रिकेटर पारस खड्का २०६७ मा बक्सिङका दीपक महर्जन तथा २०६८ मा गल्फका शिवराम श्रेष्ठले अवार्ड जिते ।

२०६९ मा पारसले पुन: अवार्ड जित्दै राजेन्द्र र दीपकसँगै दुई अवार्ड बराबरी गरे । २०७० मा फेरि अवार्ड जित्दै लगातार दुई पटक जित्ने तेस्रो खेलाडी बनेका पारस सर्वाधिक ३ अवार्ड जित्ने खेलाडी बने । पारसले २०७४ सालमा पनि वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जित्दै कीर्तिमानी चौथो पटक अवार्ड जिते ।

पारसले त्यसअघि २०६४ मा वर्ष युवा खेलाडीको अवार्ड समेत जितेका थिए । पछिल्लो एक दशकमा पारसले स्पोर्ट्स अवार्डमा दबदबा नै कायम गरे । २०६६ यता उनी ६ पटक वर्ष खेलाडीको अवार्डमा मनोनयनमा परे भने सर्वाधिक ४ पटक अवार्ड जिते । २०६८ र २०७५ मा भने पारसले अवार्ड जित्न सकेनन् ।