भरतपुर महानगरपालिकाको सातौँ नगरसभामा हंगामा

भरतपुर महानगरपालिकाको सातौँ नगरसभामा हंगामा

चितवन, २७ पुष ।
भरतपुर महानगरपालिकाको आज भएको सातौँ नगरसभामा हंगामा भएको छ । महानगनरका प्रवक्ता एवम् वडा नं १० का वडाध्यक्ष अरुणपिडित भण्डारीले नगरसभामा सरकार विरुद्धको प्रस्ताव ल्याउन लागेपछि हंगामा भएको हो । प्रवक्ता भण्डारी प्रचण्ड–माधव समूह निकटका मानिन्छन् ।
सरकार विरुद्ध अभिव्यक्ति दिने र प्रस्ताव पारित गर्नुपर्ने धारणा राख्न थालेपछि नगरसभामा हंगामा भएको हो । ‘उहाँ (भण्डारी)ले सरकार विरुद्धको प्रस्ताव नगरसभाले पारित गर्नुपर्छ भनेपछि साथीहरुले होहल्ला गरे, त्यसपछि रोकियो’, भरतपुर–२ का वडाध्यक्ष पूर्ण बहादुर श्रेष्ठले भने, ‘बोल्न अधिकार छैन, त्यस्तो कुरा नगरसभामा नगर्नुस् भनेर कराउन थालेपछि बोल्न रोक्नुभयो । त्यसपछि बोल्दिन भनेर माफि माग्नुभयो ।’
मेयर रेनु दाहालको इसारापछि कुरालाई छोट्याएर भण्डारी बाहिरीएको उनले बताए । नगरसभाले गरेका निर्णयहरु सार्वजनिक गर्न महानगरले भोलि (मंगलबार) पत्रकार सम्मेलनको आयोजना गर्दै छ ।