चितवन निकुञ्जबाट दुई हप्ते केटीको उद्धार

चितवन, २९ चैत ।
माउसँग छुट्टिएको अवस्थामा चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटी)को उद्धार गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दीव्यपुरीको पारीपट्टी नारायणी नदीको कुजौली टापुबाट उक्त केटीको उद्धार गरिएको निकुञ्जले जनाएको छ ।
करिब दुई हप्ता उमेरको केटी माउसँग छुट्टिएको अवस्थामा भेटिएपछि उद्धार गरेर सौराहा लगिएको राष्ट्रिय प्रकृति संरक्षण कोष का प्रमुख डा बाबुराम लामिछानेले बताउनुभयो । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले सो केटीलाई एक्लै देखेपछि दिनभरी निगरानी गर्दासमेत माउसँग भेट नभएकाले उद्धार गरिएको लामिछानेले बताउनुभयो । “केही दिन अगाडि नारायणीको टापुमा एक्लै भेटेपछि हामीले निगरानी गरेका थियौँ” लामिछानेले भन्नुभयो, “निगरानीका क्रममा उसको माउ लिन नआएपछि जङ्गलमा एक्लै छाड्दा बाघले खानसक्ने भएको कारण उद्धार गरेर ल्याएका हौँ ।”
कोषले उद्धार गरेर ल्याएपछि सो केटीको नाम अञ्जली राखेर उसलाई ल्याक्टोजिन दूध खुवाएर संरक्षणमा राखिएको उहाँको भनाइ छ । ६ दिन अगाडि उद्धार गरेर ल्याइएको अञ्जलीलाई १५ महिने ‘पुष्पा’सँगै राखिएको छ । पुष्पालाई गत वर्षको माघमा निकुञ्जको मुख्य क्षेत्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को तमासपुरबाट उद्धार गरेर सौराहा ल्याइएको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले विभिन्न वन्यजन्तुको बच्चा र घाईते अवस्थामा भेटिएका वन्यजन्तुहरुलाई उद्धार गरी औषधि उपचारका साथै पालन पोषण गर्दै आएको छ । कोषले हालसम्म २० भन्दा बढी गैँडाको बच्चाको उद्धार गरी पालन पोषण गरी विभिन्न स्थानमा छाडिसकेको लामिछानेले बताउनुभयो ।