रत्ननगरमा १५ करोड खर्चिएर सिटी सेन्टर वनाईदै

चितवन,१ माघ।

चितवनको पुरानो ज्योतिहलमा सुविधा सम्पन्न सिटी सेन्टर वनाईने भएको छ । सौराहा भेन्चर्स प्रा.लि.ले जिल्लाको रत्ननगर–१ स्थित पुरानो ज्योतिहल रहेको ठाउँमा सिनेमा हल सहितको सुविधा सम्पन्न सिटी सेन्टर निर्माण गर्न लागिएको हो । सौराहा भेन्चर्स प्रा.लिमा सौराहाका १५ जना व्यवसायीको १५ करोड लगानीमा सिटी सेन्टर वनाउन लागिएको भेन्चर्सका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए । भाटभटेनी सुपर मार्केटको तिर्खा मेटाउने गरी रत्ननगरमा सिटी सेन्टर सञ्चालन गर्न लागिएको पनि भट्टराईले वताए । निर्माण गर्न लागिएको सिटी सेन्टर भवनको बुधवार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर नारायण वनले शिलान्यास गरेका छन् ।

No description available.
सिटी सेन्टर निर्माणपछि पूर्वी चितवनका स्थानीयको आवश्यकता पुरा गर्ने मेयर वनले धारणा राखे । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले शहरीकरण उन्मुख रत्ननगरमा सञ्चालन हुन लागेको सिटी सेन्टर पूर्वी चितवनबासीको एकमात्र रोजाइको विषय बन्नेमा दुईमत नरहेको जिकिर गरे । सो प्रा.लिका सदस्य एवम् सौराहाका पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले मानवीय आवश्यकता भित्र पर्ने सबै चीज एउटै भवनमा उपलब्ध हुने गरी लिफ्ट सहितको तीन तले सुविधा सम्पन्न भवन निर्माण हुने जानकारी दिए । प्रा.लि.का अर्का सदस्य तथा क्षेत्रीय होटल संघ चितवनका निर्वतमान अध्यक्ष सुमन घिमिरेले ६ महिनाभित्र सपिङ सेन्टर सञ्चालनमा ल्याउने र सिनेमाहलका सबै संरचना संचालनको लागि दुई बर्ष लाग्ने बताए । सौराहाका होटल तथा रेष्टुरेण्टहरुलाई आवश्यक पर्ने सबै सामाग्रीहरु पनि सिटी सेन्टरबाट उपलब्ध हुने घिमिरेले जानकारी दिए ।