मुद्दा मिलाइदिने भन्दै रकम मागेको अभियोगमा एक पक्राउ

मुद्दा मिलाइदिने भन्दै रकम मागेको अभियोगमा एक पक्राउ

काठमाडौँ, १ माघ ।
मुद्दा मिलाइदिने भन्दै पिडित पक्षसँग रकम मागेको अभियोगमा प्रहरीले आज एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिन्छु भनि पीडित पक्षसँग ९० हजार रुपैयाँ मागेको अभियोगमा मकवानपुर टिष्टुङ पालुङ नगरपालिका–१२ घर भएका ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धि बहादुर घलानलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट पक्राउ गरेको हो ।
घलान उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।