खैरहनीमा आयोजित वक्तृत्वकलामा पूजा पहिलो

Samabesi1
  |   
प्रकाशित मिति: भाद्र २९, २०७८
344 Shares

चितवन, २९ भदौ । ५७औँ बाल दिवसको अवसर पारेर चितवनको खैरहनी नगरपालिकामा आयोजित वक्तृत्वकला प्रतियोगितामा पूजा बुर्लाकोटी पहिलो भएकी छिन् । खैरहनी नगरपालिका र लुमन्तीको आयोजनामा आज मंगलबार  प्रतियोगिता सम्पन्न गरिएको हो । 
गरिब, विपन्न समुदायका विद्यार्थीबीच आयोजित प्रतियोगितामा विद्या विक दोस्रो तथा सुनिता बुढाथोकी तेस्रो भइन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कारका साथै स्टेशनरी प्रदान गरिएको थियो । प्रतियोगितामा १५ जना विद्यार्थी सहभागी हुने भनिए पछि नौ जनाले मात्र प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । कोरोना महामारिले बालबालिकाको शिक्षामा परेको असरका विषयमा प्रतियोगिता आयोजना गरिएको थियो । 
प्रतियोगिताको विजेता तथा सहभागी विद्यार्थीलाई खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलिया, नगर शिक्षा अधिकारी राजु बानिया, सामाजिक विकास समिति संयोजक मनेजर महतोले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा समिति संयोजक महतो, खैरहनी माविकी शिक्षक विन्दुकुमारी चौधरी र पत्रकार ध्रुवराज खनाल निर्णायक रहेका थिए । खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा नगर शिक्षा अधिकारी राजु बानिया, लुमन्ती खैरहनीका कार्यक्षेत्र संयोजक सिंहबहादुर लामा, नेपाल बसोबास बस्ती संरक्षण समाज खैरहनीकी अध्यक्ष उर्मिला विकले मन्तव्य राखेका थिए । 
लुमन्तीका सामाजिक सहजकर्ता कृष्ण शर्माले सञ्चालन गरेको कार्यक्रममा महिला तथा बालबालिका शाखा उपप्रमुख विमला रानाभाटले प्रतियोगिताको उद्देश्य सहित स्वागत मन्तव्य राखेकी थिइन् ।

Samabesi1
प्रकाशित मिति: भाद्र २९, २०७८
344 Shares
Footer ads