२०७२ को भूकम्पपछिको पुनर्निर्माण कार्य अन्तिम चरणमा :ओली

काठमाडौँ, २ माघ

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ को भूकम्पपछिको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सन्दर्भमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनर्निर्माण सबल ढंगले गर्न सरकार सफल भएको दावी गर्नुभयो ।

उहाँले पुनर्निर्माणका सन्दर्भमा महत्वपूर्ण उपलब्धी हासिल गरेको भन्दै देशैभर नयाँ बन्ने घरहरूको सुरक्षित निर्माणका लागि स्थानीय निकाय र सरोकारवालाबीच समन्वय गरेर भवन निर्माण संहिताको कार्यान्वयनमा जोड दिइएको बताउनुभएको छ ।

उहाँले २०७२ कै भूकम्पको अनुभवलाई आधार बनाएर सरकारले बाढी, पहिरोले क्षतिग्रस्त बनेका घरहरू पुनर्निर्माण गर्न कार्यविधि पारित गरेको पनि बताउनुभयो । क्षति भएका घरहरूलाई पुनर्निर्माण गर्न हिमाली जिल्लामा प्रति लाभग्राही पाँच लाख रुपैयाँ र पहाडीमा चार लाख रुपैयाँ र तराईका जिल्लामा तीन लाख रुपैयाँ दिने कार्यविधि तयार भएको उहाँको भनाइ छ ।