महोत्तरीमा पाँचौँ पटक निषेधाज्ञा जारी
महोत्तरी, १ असार ।
कोभिड–१९ महाव्याधिको सङ्क्रमण बढ्न नदिन महोत्तरीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । गत वैशाख २२ गते पहिलोपटक जारी निषेधाज्ञा पटक–पटक अवधि थपिँदै अहिले पाँचौँपटक जारी गरिएको हो । गए मध्यरातदेखि लागू पछिल्लो निषेधाज्ञा अवधि एक साता कायम रहने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्लामा यसपालि २०७८ प्रारम्भ भएयता कोभिड–१९ सङ्क्रमणले गत वैशाख १४ गते पहिलो मृत्यु भएको थियो । महाव्याधिले जेठ मसान्तसम्म ८१ जनाको ज्यान लिइसकेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यसअघि २०७७ को वैशाखदेखि कात्तिक मसान्तसम्म महामारीले १८ जनाको मृत्यु भएको थियो ।
यसपालि अहिलेसम्म दुई हजार ५६७ जना यो महाव्याधि सङ्क्रमणमा परेका छन् । अहिलेसम्म एक हजार २३० जना निको भएका कार्यालयका कोभिड–१९ सङ्कट व्यवस्थापन स्रोतव्यक्ति तथा जनस्वास्थ्य निरीक्षक प्रतिभा सिंहले जानकारी दिनुभयो । जिल्लामा हाल नौ जना अक्सिजन सुविधासहित अस्पतालको सघन उपचारमा छन् । अन्य एक हजार २४७ सङ्क्रमित स्वास्थ्यकर्मीको परामर्शमा होमआइसोलेशनमा छन् । यसअघि २०७७ को वैशाखदेखि कात्तिकसम्म दुई हजार १४१ महाव्याधि सङ्क्रमणमा परेका थिए ।
जिल्लामा पाँचौँपटक जारी गरिएको निषेधाज्ञा केही खुकुलो बनाइएको छ । यसअघि बिहान तीन घण्टामात्र किराना पसल सञ्चालनको अनुमति रहेको थियो । अहिले भने साँझ पनि तीन घण्टा अत्यावश्यक सामग्रीका पसल खुल्ने जनाइएको छ । यद्यपि सुरक्षाका लागि स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने जारी निषेधाज्ञा आदेशमा उल्लेख छ । यस अवधिमा भारतीय सीमावर्ती नाका पूर्ण बन्द रहने र सार्वजनिक यातायात, हाटबजार, समूहमा हिँडडुल र विद्यालय बन्द नै रहने निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
कोरोनाबाट बच्न सचेतीकरण अभियान
दोस्रो चरणको कोरोना भाइरसका कारण जिल्लामा दैनिक सङ्क्रमणदर बढ्न थालेपछि यहाँको एक गैरसरकारी संस्थाले सचेतीकरण अभियान सञ्चालन गरेको छ । लामो समयदेखि जिल्लामा विभिन्न विकासमूलक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सम विकास केन्द्र नेपालले कोरोना भाइरसबाट बच्न जिल्लामा १० दिने सचेतना अभियान सञ्चालन गरेको हो । एचबिसिसी, युनिलिभर र एक्सनएड नेपालसँगको सहकार्यमा स्थानीय समुदायमा कोरोनासम्बन्धी सचेतना फैलाउने उद्देश्यले युवा स्वयंसेवकको अगुवाइमा उक्त अभियान सञ्चालन गरिएको संस्थाका कार्यक्रम संयोजक केशव परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार यहाँका स्थानीय नागरिकलाई कोरोनाबाट जोगिने उपाय र सर्तकताबारे सचेतना गर्न सन्देशसहित माइकिङ, प्रचारप्रसार गर्ने गरिएको छ । संस्थाद्वारा परिचालित युवाहरुले समुदायमा गएर कोरोना भाइरसबारे जानकारी, यसको लक्षण, कोरोना सङ्क्रमण सर्ने कारण र त्यसबाट बच्ने उपायसम्बन्धी जानकारी दिन थालेको संस्थाका अध्यक्ष अधिराज बिसीले बताउनुभयो ।
अभियानको शुरुआतमा दिपायल सिलगढी नगरपालिका–२, ४, ५, ६ र ७ का विभिन्न ठाउँमा सचेतनामूलक सन्देशसहित माइकिङ गरिएको छ । साथै उक्त अभियान दिपायल सिलगढी, शिखर नगरपालिका र केआइसिंह गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा १० दिनसम्म सञ्चालन गरिने संस्थाले जनाएको छ । जिल्लामा पछिल्लो समय कम्तीमा पनि एक हजार २०० कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।रासस