नगर अस्पतालको आधुनिक भवन १८ करोडमा बनाइदै
नवलपुर, १ असार ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाका स्थित गैँडाकोट नगर अस्पतालको आधुनिक भवन निर्माण शुरु गरिएको छ । १५ शय्याको नगर अस्पतालको आधुनिक भवन निर्माणका लागि सङ्घीय सरकारले रु १८ करोड बजेट विनियोजन गरेपछि निर्माण कार्य शुरु गरिएको हो ।
सरकारले विनियोजन गरेको रकममध्ये रु एक करोड बजेट निकासा भएलगत्तै नगर अस्पताल निर्माणको काम अगाडि बढेको नगरप्रमुख छत्रराज पौडेलले बताउनुभयो । आधुनिक सेवा सुविधा सहितको नगर अस्पताल भवनको प्रारम्भिक चरणको निर्माण कार्य शुरु भएको भन्दै नगरप्रमुख पौडेलले भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको जानकारी दिनुभयो । आकस्मिक कक्ष निर्माणसँगै नगर अस्पतालले गत वर्षको फागुन २७ गतेदेखि सेवा प्रदान गर्दै आएको थियो ।
अस्पतालमा दुई जना मेडिकल अधिकृत (एमबीबीएस डाक्टर) सहितका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह भइरहेको छ । अस्पतालको नयाँ भवन निर्माणले पूर्णता पाएपछि सबै दरबन्दी सहित अहिले उपलब्ध हुन नसकेका सेवाहरु समेत प्रदान गर्न सकिने नगरप्रमुख पौडेलले बताउनुभयो । अस्पतालबाट हाल आकस्मिक सेवासहित प्रसूति सेवा, घाउको ड्रेसिङ सेवा तथा प्राथमिक उपचार सेवा प्रदान गरिदै आएको छ ।
गैँडाकोट नगर अस्पताल विकास समितिका अध्यक्ष एवं गैँडाकोट वडा नम्बर ११ का वडाध्यक्ष गोविन्द प्रसाद सुवेदीले निर्माण शुरु गरिएको नयाँ भवनमा जेनेरेटर जडान, सेवा सहजताका लागि छुट्टाछुट्टै कक्ष, खानेपानीको सहज व्यवस्थापन हुने जानकारी दिनुभयो । अस्पतालबाट प्रदान गरिने सेवा सम्बन्धि तालिकालाई व्यवस्थित पार्ने, पुराना फाइलहरु हटाउने, वरपर सरसफाइ गर्दै हरियाली बनाउने, अस्पतालमा बगैँचा व्यवस्थापन गर्दै नगर अस्पताललाई आकर्षक बनाउने गरी काम अगाडि बढेको सुवेदीले बताउनुभयो ।