गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा नवलपुरको धार्मिक पर्यटनलाई प्राथमिकता
नवलपुर, १ असार ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८८/७९ का लागि तय गरेको प्रमुख नीति तथा कार्यक्रमले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेको छ । सोमबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममार्फत जिल्लामा धार्मिक पर्यटन केन्द्रित योजनाहरु परेका हुन् ।
जिल्लामा त्रिवेणीधाम, देवघाटधाम, केलादीघाटधाम, नारायणी नदीसहितका विभिन्न महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलहरु रहेका छन् । प्रदेशको नीति तथा कार्यक्रमले जिल्लाका महत्वपूर्ण धार्मिक क्षेत्रलाई अन्य जिल्लासँग जोड्दै धार्मिक पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण योजनाहरु अगाडि सारेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पौडेलले जिल्लाको त्रिवेणीधाम, देवघाटधाम, केलादीघाटधामलाई प्रदेशका अन्य जिल्लामा रहेका राम्दीघाट, रुद्रवेणी, शालिग्राम, बागलुङ कालिका, पञ्चकोट, बराह, गलेश्वर, मुक्तिनाथ, दामोरदकण्ड, विन्ध्यवासिनी पोखरा, करापुटार, व्यास दमौली, छिम्केश्वरी, गोरखकाली, मनकामनासँग जोड्नेगरी धार्मिक परिपथ विकास गरिने बताउनुभयो ।
त्यस्तै, उत्तर दक्षिण द्रुत मार्ग अन्तर्गत चीनको सीमा नाकाबाट कोरोला–पोखरा–दुम्किवास हुँदै त्रिवेणीको सडक निर्माण कार्यलाई निरन्तरता दिइनेगरी बजेट आउने पौडेलले बताउनुभयो । त्यसैगरी तनहुँको दमौलीबाट बुद्धसिंह मार्ग हुँदै त्रिवेणीधाम जोड्ने सडक निर्माणको कार्य अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । संस्कृति तथा व्यापारिक महत्वको त्रिवेणीधाम क्षेत्रको विकाको लागि गुरुयोजना तर्जुमा गरिने प्रदेशको नीति तथा कार्यक्रममा जनाइएको छ ।
महत्वपूर्ण धार्मिक क्षेत्र त्रिवेणीधाममा आफ्नै प्रदेशबाट जान मिल्नेगरी त्रिवेणीधाम–दुम्कीवास सडक निर्माण कार्य प्रारम्भ गरिने पौडेलले बताउनुभयो । नवलपुरमा रहेको त्रिवेणीधाम जानका लागि अहिले लुम्बिनी प्रदेशको नलपरासी (बर्दघाट–सुस्तापश्चिम)को बर्दघाट हुँदै जानुपर्ने बाध्यता रहेको छ । धार्मिकसँगै जल पर्यटनको प्रचुर सम्भावना रहेको नवलपुर हुँदै बग्ने नारायणी नदीमा बिच पार्क निर्माण गर्नेगरी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ ।
त्यस्तै, प्रदेशको प्राथमिकतामा रहेको तनहुँ र नवलपुर जोड्ने भीमाद–डेढगाउँ–अरुणखोला सडकलाई नेपाल सरकारसँगको सहकार्यमा निरन्तरता दिने बताइएको छ । नवलपुरमा काठ तथा गैरकाष्ठ वन पैदावरजन्य मझौला उद्योग स्थापना गर्न प्रदेश सरकारले सहयोग गर्ने भएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिसँगको समन्वय र सहकार्यमा नवलपुरको चुरे भावर लगायत अन्य भौगोलिक दृष्टिकोणले संवेदशील क्षेत्रहरुमा प्राकृतिक स्रोत एकीकृत र दिगो व्यवस्थापन गर्ने प्रदेश प्रमुख पौडेलले बताउनुभयो ।
जिल्लामा स्वास्थ्य क्षेत्रको विकासका लागि समेत प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटेको छ । डायलासिस गराउनुपर्ने मिर्गौला पीडित बिरामीहरुका लागि जिल्लाकै मध्यविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा विस्तार गरिने भएको छ । त्यस्तै राजमार्गमा हुने अत्यधिक सवारीसाधन दुर्घटना र यसबाट हुने घाइतेलाई समेत विचार गर्दै प्रदेश सरकारले नवलपुरमै ट्रमा सेन्टर स्थापना गर्नेगरी नीति तथा कार्यक्रम ल्याएको छ ।
नेपाल सरकारसँगको सहकार्यमा नवलपुरको जिल्ला सदरमुकाम कावासोतीमा एकीकृत प्रशासनिक केन्द्रसँगै प्रदेश प्रशासनिक केन्द्र, प्रदेशसभा भवन, प्रदेश कर्मचारी आवास निर्माण कार्य अगाडि बढाइने भएको छ । एक पालिका एक खेल मैदान सहित खेलकुद विकासका लागि गैँडाकोटमा विपी खेलग्राम स्थापना गरिने प्रदेश प्रमुख पौडेलले बताउनुभयो । ‘समृद्ध प्रदेश र सुखी नागरिक’को लक्ष्य हासिल गर्न तयार गरिएको अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन लक्ष्य १५औँ राष्ट्रिय योजना, प्रथम पञ्चवर्षीय योजना, दिगो विकास लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता, प्रदेशका नागरिकको विकास चाहना, जननिर्वाचित प्रतिनिधिमार्फत मुखरित जनभावना र विज्ञ तथा सरोकारवालाहरुले दिएको सुझावलाई समेत आत्मसात गरी उपलब्ध स्रोत साधनको अधिकतम र दक्षतापूर्वक उपयोग गर्दै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८८/७९ का लागि नीति तथा कार्यक्रम ल्याएको पौडेलले बताउनुभयो ।
सोमबार प्रदेशसभा समक्ष प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको आधारमा सरकारले ल्याउने बजेटको कार्यान्वयनबाट गण्डकी प्रदेशको समृद्धिमा टेवा पुग्ने प्रदेश प्रमुख पौडेलको भनाइ छ ।