रत्ननगरमा आकाशेपुल निर्माण, मेयर वनद्धारा उद्घाटन

चितवन, ३ माघ ।

चितवनको रत्ननगर स्थित टाँडी चोकमा आकाशेपुल निर्माण गरिएको छ । झण्डै २ करोड ३९ लाखको लागतमा सो पुलको निर्माण गरिएको हो । २०७६ साल फागुन २ गतेबाट निर्माण सुरु गरिएको सो आकाशे पुल २०७७ साल पुस २२ गते सम्पन्न भएको थियो । पुल २ करोड ३९ लाख ९२ हजार २७० रुपैयाँको लागतमा फलामबाट निर्माण गरिएको हो ।

पुल निर्माणको जिम्मा हिम सगरमाथा कन्स्ट्रक्सनलाई दिइएको थियो । सडक चौडा बनाउनु परेको खण्डमा उक्त पुललाई सजिलै सार्न मिल्ने गरी बनाइएको छ । ४२.३ मिटर लामो रहेको उक्त पुलको सडकदेखिको उचाई ५.५ मिटर रहेको छ ।
सो पुलको शनिवार एक कार्यक्रमका बीच रत्ननगरका मेयर नारायण वनले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर वनले सडकको दुबैतर्फ घना वस्ती भएको र राजमार्गमा सवारी चाँप पनि बढ्दै गएकाले आकाशे पुलको निर्माण गरिएको जानकारी दिए । उनले सौराहा चोक र बकुलहर चोकमा पनि आकाशे पुल बनाउने तयारी थालिएको जनाए । नगरपालिका इन्जिनियर पंकज गिरीका अनुसार सो पुल अपांगमैत्री समेत वनाईने योजना रहेको वताए । अपांगमैत्री वनाउन निकट भविष्यमा लिफ्टको सुविधा रहने इन्जिनियर गिरीले जानकारी दिए । सो अवसरमा नगरपालिका प्रमुख प्रशाकसीय अधिकृत भीमवहादुर कुँवरले पुल निर्माणमा भएको खर्च विवरण प्रस्तुत गरेका थिए ।

उद्घाटन कार्यक्रममा रत्ननगरकी उपमेयर विमला दुवाडी,नेकपा नगर अध्यक्ष कुल प्रसाद लामिछाने,नेपाली काग्रेश नगर सभापति रुपनराज घिमिरे,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ,रत्ननगर २ का वडाध्यक्ष तीलकराज शर्मा लगायतले पुल निर्माणले वजारको सुन्दरता थपिनुका साथै आवागमनमा सहजता र दुर्घटना न्युनिकरण हुने विश्वास व्यक्त गरे ।
स्थानीय जनप्रतिनिधि, रत्ननगर उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ रत्नननगर इकाइ, सुरक्षा निकाय, स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।