‘धोनी’मा सुशान्तको साथी बनेका अभिनेता सन्दीप नाहरद्वारा आत्महत्या

‘धोनी’मा सुशान्तको साथी बनेका अभिनेता सन्दीप नाहरद्वारा आत्महत्या

काठमाडौं,४ फागुन ।

बलिउड अभिनेता सन्दीप नाहरको मृत्यु भएको छ। मुम्बईस्थित आफ्नो घरमा उनी मृत फेला परेका हुन्। उनले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आत्महत्याअघि उनले फेसबुकमा एउटा भिडियो पोष्ट गरेका थिए। जसमा उनले आफ्नी श्रीमती र बलिउडको राजनीति आफ्नो आत्महत्याको कारण भएको बताएका थिए।

स्थानीय प्रहरी अधिकारीका अनुसार मुम्बईको गोरेगावस्थित घरमा उनी बेहोस अवस्थामा फेला परेका थिए। उनलाई उनीकी श्रीमती र साथीले अस्पताल पुर्‍याएका थिए। अस्पतालले उनलाई मृत घोषित गरेको थियो।

सन्दीप हरियाणाको काल्का जिल्लामा सन् १९८७ डिसेम्बर २५ मा जन्मिएका थिए। अभियनमा उनको सानैदेखि रुची थियो।

अभियनमा करियर बनाउन उनी सन् २००९ मा मुम्बई गएका थिए। आफूले सोचेजस्तो काम नपाएपछि घर फर्केका उनी फेरि सन् २०१२ मा मुम्बई गएका थिए। उनले केही टिभी सिरियलमा पनि काम गरेका थिए।

उनले सन् २०१६ मा रिलिज भएको चलचित्र ‘एम.एस. धोनीः द अनटोल्ड स्टोरी’मा महत्वपूर्ण भूमिका निभाएका थिए। जहाँ उनी धोनीको भूमिका निभाएका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको साथीको भूमिकामा देखिएका थिए।

उनले त्यसपछि अक्षय कुमारको चलचित्र ‘केसरी’मा पनि काम गरेका थिए।