दोस्रो अन्तर्राष्ट्रिय चितवन भेट्रान कप ११ गतेदेखि

दोस्रो अन्तर्राष्ट्रिय चितवन भेट्रान कप ११ गतेदेखि

चितवन, ४ फागुन ।

चितवन भेट्रान फुटबल क्लबको आयोजनामा अन्तर्राष्ट्रिय भेट्रान कपको दोस्रो संस्करण ‘दोस्रो अन्तर्राष्ट्रिय चितवन भेट्रान कप–२०७७’ फागुन ११ देखि चितवनको भरतपुरमा सुरु हुने भएको छ ।
भरतपुर–७ को कृष्णपुर खेल मैदानमा हुने प्रतियोगितामा नेपाल र भारतकागरी १४ वटा फुटबल समूहको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक वरुण बस्नेतले सो प्रतियोगितामा पहिलो हुने फुटबल समूहले एक लाख ५१ हजार रुपैयाँ नगद तथा सिल्ड, मेडल र प्रमाणपत्र पाउने बताउनुभयो । प्रतियोगिताको उपविजेताले ७५ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने बस्नेतको भनाइ थियो ।
प्रतियोगिताको उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, हाइ स्कोरर र सर्वोत्कृष्ट खेलाडीको विधामा समेत पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो । अघिल्लो वर्षको भन्दा यस वर्ष पुरस्कार राशि बढाएर भेट्रान फुटबल प्रतियोगितामा नेपालकै धेरै पुरस्कार राशि पु¥याइएको बस्नेतको भनाइ थियो । चितवनबाट दुई टिम प्रतियोगितामा सहभागी हुने भन्दै बस्नेतले उद्घाटन खेलमा चितवन भेट्रान रातो र जनकपुरबीच प्रतिस्पर्धा हुने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय रेफ्री वीरेन्द्र पाण्डेले प्रतियोगिता एक घण्टाको हुने भन्दै निर्धारित समयमा बराबरीको अवस्थामा खेल पुगेमा सिधै ट्राई बेकरबाट विजयी घोषणा गरिने बताउनुभयो । फागुन १५ गतेसम्म हुने प्रतियोगितामा पहिलो दिन दुई खेल, दोस्रो र तेस्रो दिन चार÷चार वटा खेल चौथो दिन दुई वटा खेल तथा अन्तिम दिन फाइनल खेलाइने पाण्डेले बताउनुभयो । चितवन भेट्रान फुटबल क्लबका अध्यक्ष रवीन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा भरतपुर–७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्ले प्रमुख अतिथि हुनुहुन्थ्यो ।