विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयको निर्णय
काठमाडौं,३ वैशाख ।
शिक्षा मन्त्रालयले विद्यालय बन्द नगर्ने निर्णय गरेको छ । मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको हो ।
शुक्रबार मन्त्रालयमा बसेको सरोकारवालाहरूको बैठकपछि मन्त्रालयले विद्यालय बन्द नगर्ने निर्णय गरेको हो ।
मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गर्ने निर्णय पनि गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । कोरोनाको संक्रमणको अवस्थालाई हेरेर स्थानीय तहसँगको समन्वयमा भने विद्यालय बन्द हुनसक्ने उहाँको भनाइ छ ।
यसअघि पनि मन्त्रालयले सरोकारवालाहरूसँग छलफल गरेको थियो । उक्त छलफलमा सहभागीहरूले पनि विद्यालय बन्द गर्न नहुने धारणा राखेको थिए ।
यता स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अति प्रभावित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान र भिडभाड हुने क्षेत्र र क्रियाकलाप बन्द गर्न अपिल गरेको थियो ।
यसअघि काठमाडौँ महानगरपालिकाले पनि शिक्षक वा विद्यार्थीमा कोरोना भाइरस देखिए एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । महानगरको निर्णयमा कोभिड–१९ को समस्या भएका विद्यालय मात्र बन्द गर्न पाउने र सबै विद्यालयलाई एकैपटक बन्द गर्न नहुने उल्लेख गरिएको छ ।