अमेरिकामा बन्दुकधारीको आक्रमणमा ८ जनाको मृत्यु

एजेन्सी, ३ बैशाख ।

अमेरिकाको इन्डियाना राज्यमा भएको बन्दुक आक्रमणमा परी कम्तिमा पनि ८ जनाको ज्यान गएको छ ।

बिहीबार इन्डियानापोलिसस्थित फेडेक्सको एक कार्यालय/गोदाममा बन्दुक आक्रमण हुँदा ८ जनाको मृत्यु भएको छ । त्यस्तै आक्रमणमा परी झण्डै ६० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

इन्डियानाको प्रहरीले समेत बन्दुक आक्रमणमा परी ८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । हाल घाइतेहरुलाई अस्पताल लगिएको छ र एकजनाको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता जिनी कुकले बताइन् ।

गोदाममा गोली चलाएलगत्तै बन्दुकधारीले आफैंलाई गोली हानेका थिए । आफैले चलाएको गोली लागेर उनको मृत्यु भएको छ ।

हाल बन्दुकधारीको मृत्यु भएको र समुदायमा कुनै खतरा नरहेको पनि प्रहरीले जनाएको छ । त्यस्तै गोली काण्डबारे थप विवरण संकलन गरिरहेको र अनुसन्धानमा अधिकारीहरुलाई सहयोग गरिरहेको फेडेक्सले जनाएको छ ।