पदमुक्त भएका जसपाका चार नेता पुगे सर्वोच्च

काठमाडौं,२ जेठ ।

लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चारजना सांसदहरुको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। उनीहरुलाई उपेन्द्र यादव पक्षको कारबाहीलाई आधार मानेर वैशाख १६ गते लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले पदमुक्त गरेका थिए। त्यसपछि उनी कानूनी लडाइँ लड्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्न खोजेका थिए। तर, काठमाडौंमा निषेधाज्ञाका कारण रिट दर्ता हुन सकेको थिएन।

तत्कालीन समयमा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी भएपछि उनीहरुलाई पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले कारबाही गरेको थियो । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका उनीहरू फेरि मन्त्री भई सरकारमा सहभागी भएका थिए ।

तर, पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले उनीहरुलाई कारबाही नगरेको पत्र प्रदेशसभालाई पठाएका थिए । त्यसका बाबजुद पनि उनीहरुलाई कारबाही गरी पदमुक्त गरिएको थियो । उनीहरुलाई लुम्बिनीका प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ गते पदमुक्त गरेका थिए ।

सर्वोच्चमा आजदेखि संवैधानिक व्याख्या, मौलिक हक लगायतका मुद्दाहरुको पनि सुनुवाइ र रिट दर्ता हुने भएपछि रिट निवेदन दर्ता गराएका हुन् ।