चितवनमा एकै दिन १३ जना कोरोना संक्रमितको मृत्यु, ३९ जना संक्रमणमुक्त

चितवन २ जेठ ।

चितवनमा एकै दिन १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा चितवनका चार अस्पतालमा उपचाररत १३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा ६, कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज)मा ५,  भरतपुर अस्पताल र भण्डारा अस्पताल  राप्तीमा  एक-एक जना गरी १३ जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा चितवनका चार, नवलपरासी, रुपन्देही र गुल्मीका २-२ जना, लमजुङ , सर्लाही र बुटवलका एक-एक जना छन् । योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६७ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ३९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।