हुस्सुले आन्तरिक उडानमा असर,३ दिनमा १ सय २ उडान रद्द

काठमाडौं,४ माघ ।

बाक्लो हुस्सु र कुहिरोले तराईका अधिकांश जिल्लामा तय भएका आन्तरिक उडानमा असर परेको छ । पछिल्लो ३ दिनमा मात्रै आन्तरिकतर्फ १ सयभन्दा बढी उडान रद्द भएका छन्।

तराईका विमानस्थलमा हुस्सुका कारण उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको टावरले जनाकारी दिएको छ। माघ १ गतेदेखि ३ गते शनिबारसम्ममा आन्तरिकतर्फका मात्रै १ सय २ वटा उडान रद्द भएका छन्।

 

आइतबार भने तराईका केही विमानस्थलमा बिहानदेखि नै उडान सुरु भएको छ। तर, पनि भरतपुर, भद्रपुर र जनकपुरमा भने अहिलेसम्म पनि बाक्लो हुस्सुको कारण उडान हुन सकेको छैन।

आइतबार पोखरा, विराटनगर, नेपालगञ्ज र भैरहवामा भने बिहान ८ बजेबाट उडान भएको विमानस्थल टावरले जानकारी दिएको छ।

मौसम प्रतिकुलताका कारण उडान डिले तथा रद्द हुँदा आन्तरिक विमानस्थलको टर्मिनमा यात्रुको भीडसमेत बढेको छ।