ओलीलाई प्रचण्डको जवाफ : अहिले देश तनाबमा छ, हामी यस्तो बेलामा हास्न सक्दैनौ

काठमाडौं, ४ माघ ।

नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली संविधानको हत्या गरेर हाँसेर बसेको आरोप लगाएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले संसद (प्रतिनिधि सभा) विघटन गर्ने निर्णयले संविधानकै हत्या भएको बताएका हुन् ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुले नेपाली जनता हसाएको दाबी गर्दै जनता हँसाएकोमा केही व्यक्ति चिढिएको टिप्पणी गरेका थिए ।

ओलीको सोही भनाई जवाफ दिँदै प्रचण्डले ७० वर्षको संघर्षबाट प्राप्त संविधानको हत्यापछि केपी ओली हाँसेर बसेको टिप्पणी गरे । ‘अहिले देश संविधानको हत्या भएको । हामी हाँस्न सक्दैनौं’, उनले भने ।

संविधानको हत्या हुँदा आफू हाँसेर बस्न नसक्ने, तर ओली भने हाँसेर बसेको प्रचण्डले टिप्पणी गरे । सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या पछि ओली अहिले हाँसेर बसेको प्रचण्डको भनाइ थियो ।

प्रचण्डले भने, ‘अहिले ओलीको खोपडी उल्टो चलिरहेको छ, हिजो आन्दोलनबाट उपलब्धि भएको बेला रोएर हिंडेका ओली अहिले आन्दोलनका उपलब्धिमाथि हमला गरेर उत्सव मनाइरहेका छन्,’ उनले भने, ‘ओलीजी हामी अहिले तपाईसँग उत्सव मनाउन सक्दैनौं । कमिक भनेर बस्न सक्दैनौं । हामी गम्भीर र चिन्तित छौं ।’

प्रचण्डले भने, ‘हामी तपाईंको बाटोलाई प्रतिक्रान्तिकारी बाटोलाई घृणा गर्न चाहन्छौं, भर्त्सना गर्न चाहन्छौं । यो पतनको बाटो हो । व्यक्तिगतरुपमा तपाईंसँग केही लिनदिनुछैन ।’

प्रचण्डले अदालत र अख्तियारमा भ्रष्टाचारका मुद्दा रहेकाहरूलाई न्यायाधीश बनेर प्रधानमन्त्री ओलीले सफाइ दिने गरेको    आरोप लगाए ।

‘हामी ओलीको रोग हामीमा पनि सर्ला भनेर डराइरहेका छौं,’ उनले भने, ‘तपाईंमा मेजर अपरेशन गरेर संक्रमण रोक्न खोजिएको हो र संक्रमण रोक्दै यसलाई कम्युनिष्ट पार्टी जस्तो बनाउन यस्तो गरिएको हो ।’