‘प्रहरी संगठनलाई शुद्ध बनाउन शुद्धिकरण अभियान’

चितवन, ४ पुष ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले प्रहरी संगठनलाई शुुद्ध बनाउन प्रहरी शुद्धिकरण अभियान ल्याइएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षकको नवनिर्मित निवास भवनको उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै लामाले अभियानले सकरात्मक परिणाम पनि ल्याएको बताए ।

प्रदेशमा प्रहरी शुद्धिकरण अभियान सुरु भएको ५ महिना भएको छ । ५ महिनामा प्रहरीको आचरण विपरित काम गर्ने १७ जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको उनले बताए । यो अभियान जारी रहेको भन्दै उनले गलत काम गर्ने प्रहरीको निगरानि गर्न स्पेशल टास्क फोर्स नै तयार गरिएको बताए । राम्रा काम गर्ने प्रहरीलाई प्रोत्साहन गर्न सम्मान तथा पुरस्कृत गर्ने काम पनि गरिएको उनको भनाइ छ ।
प्रहरी नायव महानिरीक्षक लामाले उद्घाटन गरेको भवन ५९ लाख ७ हजार रुपैयाँमा निर्माण गरिएको हो । चितवनका प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जिल्लामा अपराध नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम राख्न उपलब्ध जनशक्तिलाई बढीभन्दा बढी प्रयोगमा ल्याइएको बताए । समाजसेवी मिना खरेलले शान्ति सुरक्षा र अमनचयन कायम राख्न प्रहरी र नागरिक बीच समन्वय हुनुपर्ने बताइन् ।