रामपुर घटनाप्रति नेपाली कांग्रेसले अपत्ति

काठमाडौं,४ वैशाख ।

नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस, चितवनमा नेपाल विद्यार्थी संघका विद्यार्थीहरु माथि भएको सांघातिक हमलाबारे आपत्ति जनाएको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ति जारी गर्दै नेविसंघका विद्यार्थीहरुमाथि आक्रमण गर्नेहरुलाई कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘शिक्षण संस्थाहरु भनेका ज्ञान आर्जन गर्ने थलो मात्र नभई स्वतन्त्र र निर्भयपूर्वक शिक्षण गर्ने शान्ति क्षेत्र हो । यस्ता शान्ति क्षेत्रमा नै हतियार सहित आक्रमण हुनु अत्यन्त दुःखद हो । हातियार सहित विद्यार्थीहरु माथि आक्रमण हुँदा पनि स्थानीय प्रशासन मुकदर्शक बनेर बस्नु लज्जास्पद विषय हो । प्रशासनको यो लाचारिता प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ ।’

अपराधिक मानसिकता भएका हतियारधारी समूहको आक्रमणबाट दिपेश बानियाँ, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्य घाइते भएका छन् । साथै, कांग्रेसले विश्वविद्यालयलाई प्रागिक थलोको रुपमा विकास गर्न, शान्तिपूर्ण विचार प्रकट गर्ने एवं ज्ञानको खोजी तथा अनुसन्धान गर्न सक्ने संस्था बनाउन आग्रह गरेको छ ।