भेरी अस्पतालमा १९० जनामा परीक्षण गर्दा १०६ जनामा कोरोना पोजिटिभ

काठमाडौं,४ वैशाख ।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा एकै दिन १ सय ६ जनामा कोरोना पुष्टि भएको छ। गत २४ घण्टामा १ सय ९० जनामा गरिएको परीक्षणमा १ सय ६ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

कोरोना संक्रमित हुनेमा आठ वर्षदेखि ७३ वर्ष उमेर समूहका छन्। अधिकांशजसो संक्रमित बाँके र बर्दियाको रहेको अस्पतालले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। हालसम्म ५५ हजार ७ सय ६७ जनाको नमूना परीक्षण गर्दा ६ हजार १८ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएकाले सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न अस्पतालको आग्रह छ। यसअघि शुक्रबार १ सय ८३ जनाको परीक्षण गर्दा १ सय २७ जनामा कोरोना पुष्टि भएको थियो।