चुरे संरक्षण दिवसको अवसर पारेर देवघाटमा वृक्षरोपण
देवघाट, ३ असार ।
तनहुँको देवघाट क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेर चुरे संरक्षण दिवस मनाइएको छ । हरेक वर्ष असार ३ गतेका दिन मनाइने चुरे संरक्षण दिवस यसवर्ष पनि देवघाटमा वृक्षरोपण गरेर मनाइएको हो ।
डिभिजन वन कार्यालय तनहुँको आयोजना तथा देवघाट गाउँपालिकाको समन्वयमा ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने मूल नाराका साथ आज देवघाट गाउँपालिकाको सिटी हल परिसरमा १२ प्रजातिका बिरुवाहरु रोपिएका छन् । म्याङ्गोस्टिक, कपुर, अमला, श्रीखन्ड, रक्तचन्दन, अशोक, तेजपत्ता, अम्बा, धुपी, कटहर, बेल, पारिजात लगाएत प्रजातिका करिब २०० भन्दा बढी बिरूवाहरू रोपेर चुरे संरक्षण दिवस मनाइएको हो ।
वृक्षरोपणसँगै चुरे दिवसको दिवसको अवसर पारेर देवघाट गाउँपालिकाको सिटि हलमा औपचारिक कार्यक्रम समेत गरिएको छ । कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले चुरे आम नागरिकको जीवन तथा सभ्यता भएको बताए । देवघाट गाउँपालिकाभित्र पनि चुरे क्षेत्र रहेकोले सो चुरे क्षेत्रको संरक्षणमा सबै देवघाटवासी लाग्नुपर्नेमा थापाले जोड दिए ।
देवघाट क्षेत्रमा लियो क्लब अफ चौतारी देवघाटले सडकको वरपर धार्मिक बिरुवा रोप्न लागेको अध्यक्षले थापाले जानकारी दिए । कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एवं देवघाट गाउँपालिका–५ का वडाध्यक्ष यालबहादुर गुरुङले चुरे क्षेत्रको संरक्षण गर्न सबै नागरिकसँग आग्रह गरे । उनले बिरुवा रोपेर मात्र नभई रोपिएका बिरूवाहरूलाई संरक्षण गर्न महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमाले देवघाट कमिटी अध्यक्ष केशव न्यौपानेले चुरेको संरक्षणमा मत्रै मानवको अस्तित्व भएको भन्दै चुरे क्षेत्रमा हुने अतिक्रमण रोक्न सबै एकजुट भएर लाग्नुपर्ने बताए । कार्यक्रममा देवघाट वुद्धिजीवी परिषद्का अध्यक्ष डाक्टर सुरेन्द्र श्रेष्ठ, इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछाने, देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्णराज पन्थ इलाका वन कार्यालय देवघाटका प्रमुख नवराज घिमिरे, लियो क्लब अफ चौतारी देवघाट, स्थानीयवासी लगायतको सहभागिता थियो ।