‘मनसुनपछि सरुवा रोगको उच्च जोखिममा चितवन’
चितवन, ३ असार ।
हरेक वर्ष मनसुन लगत्तै चितवनमा सरुवा रोगका बिरामीहरु एकाएक बढ्ने गरेका छन् । यस वर्ष पनि सोमबारदेखि लगातार परेको पानीका कारण मानव स्वास्थ्यमा गम्भीर खालका असर पर्न सक्ने भन्दै सचेतना अपनाउन स्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक प्रसाद तिवारीले बाढीपहिरो नै आउने गरी पानी पर्दा त्यसको केही दिनपछि नै असर देख्न सकिने हुँदा त्यसबाट जोगिनु आवश्यक रहेको बताए । वर्षात्का कारण जताततै बाढीपहिरो गएको भन्दै तिवारीले यो समयमा खानेपानी नै दूषित हुने भएकाले पानी उमालेर मात्रै पिउनुपर्ने बताए । तिवारीले दूषित पानीकै कारण झाडापखाला सहितका महामारीजन्य रोगहरु फैलिन सक्ने सम्भावना तीव्र भएको बताए ।
मनसुनपछि जमिनमा जमेको पानीका कारण लामखुट्टे सक्रिय हुने र डेंगुज्वरो फैलिन सक्ने हुँदा सकभर घरवरिपरि पानी जम्ने खाल्डो पुर्नसमेत उनले आग्रह गरे । मनसुन सक्रिय भइसकेको हुँदा अबका केही समयपछि डेंगुज्वरो तथा स्क्रब टाइफसजस्ता रोगको जोखिम पनि बढ्न सक्ने तिवारीको भनाइ छ । बाहिरी स्थानमा पानी जमेपछि मुसाले सुरक्षित स्थान खोज्दै घरभित्र प्रवेश गर्न सक्ने सम्भावना रहने हुँदा मुसालाई घरभित्र छिर्न नदिन झ्यालढोकामा जाली लगाउने र मुसा छिर्ने ठाउँ राम्रोसँग बन्द गर्नुपर्ने उनले बताए ।
स्क्रब टाइफसको सङ्क्रमण मुसाबाट मानिसमा फैलिने रोग भएकाले यसबाट सुरक्षित हुनु नै रोगबाट बच्ने मुख्य सतर्कता भएको तिवारीको भनाइ छ । डेंगुज्वरो र स्क्रब टाइफसका अलावा हेपाटाइटिस, जन्डिस, रूघाखोकीजस्ता रोगहरुको समस्या देखिनसक्ने भन्दै तिवारीले पहिल्यै सतर्क रहनुपर्ने बताए । यी समस्याहरु हालसम्म नदेखिएको भए पनि पानी परेको हुँदा अब जोखिम बढ्न सक्ने तिवारीले बताए ।