छैटौँ स्थापना दिवसमा एमडब्लुआरआरद्वारा रक्तदान
चितवन, ३ असार ।
सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रहेका युवाहरुको संस्था मेन्स एण्ड वुमन्स रुम रिलोडेड (एमडब्लुआरआर)ले आफ्नो छैटौँ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ ।
एमडब्लुआरआरले बिहीबार प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा आयोजना गरेको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका ग्रुपका एडमिन एकान्त प्रेमीले बताए । सुरुमा रमाइलोका लागि ग्रुप निर्माण गरिएको भए पनि पछि सदस्यहरु बढ्दै गएपछि सामाजिक क्षेत्रमा समेत क्रियाशील हुन थालेको प्रेमीको भनाइ छ । अहिले उक्त ग्रुपमा एक लाख १० हजार भन्दा बढी सदस्यहरु जोडिएका छन् ।
एडमिन प्रेमीका अनुसार ग्रुपमा सहभागीहरुको अग्रसरतामा नदी सरसफाइ, ट्राफिक सचेतना, बाढी पीडितहरुका लागि राहत वितरण, गरिब तथा जेहेन्दार विद्यार्थीको लागि शैक्षिक सामग्री वितरण, रक्तदान कार्यक्रमका साथै दुःखमा परेकाहरुलाई उद्धार गर्ने गरिएको छ । गत वर्षको निषेधाज्ञाको समयमा समेत धेरै व्यक्तिहरुलाई उद्धार तथा सहयोग गरिएको भन्दै प्रेमीले रगत आवश्यक पर्ने बिरामीहरुलाई रगत उपलब्ध गराउन ग्रुप हरपल खटिने गरेको बताए ।