पछिल्लो २४ घन्टामा १ हजार १५ जनामा कोरोना संक्रमण, ८ को मृत्यु
काठमाडौं,५ वैशाख ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकका अनुसार थप १ हजार १५ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा देशभर ५ हजार ८४ नमुनाको पिसिआर परीक्षण र ६९९ जनाको एन्टिजेन परीक्षण भएको थियो। ती मध्ये पिसिआर विधिबाट १ हजार १५ जना र एन्टिजेन विधिबाट ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ।
डा गौतमका अनुसार गत २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ जना पुगेको छ।
गत असाजे यता नयाँ संक्रमितको संख्या एकहजार नाघेको यो पहिलो पटक हो। नेपालमा अहिले संक्रमण दर उच्च रहेको छ। पछिल्लो २४ घण्टामा संक्रमणदर १८ प्रतिशतभन्दा माथि देखिएको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार २९० पुगेको छ।
हाल देशभर ६ हजार २९० जना सक्रिया संक्रमित रहेका छन्। जसमध्ये संस्थागत आइसोलेसनमा ५७६ जना र होम आइसोलेसनमा ५ हजार ७१४ जना रहेका छन्। यस्तै देशभर ११६ जना आइसियु र ४६ जना संक्रमित भेन्टिलेटरमा उपचारत छन्।
गत २४ घण्टामा २ सय ६२ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ३ सय पुगेको मन्त्रालयले जनाएको छ। यस्तै देशभर ८५ जना क्वारेन्टाइनमा रहेका छन्।
प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले कोरोनाबारे बोल्ने जनस्वास्थ्य विद्हरुलाई पनि जथाभावी नबोल्न भनेका छन्। उनले नेपालमा हरेक उमेर समूह कोरोनाको जोखिममा रहेको भन्दै कुनै एक समूह अधिक जोखिममा छ भनेर नबोल्न उनले निर्देशन दिएका हुन्।
यसअघि जनस्वास्थ्य विद्हरुले बालबालिका अधिक जोखिम रहेको बताएका थिए। उनीहरुले यस्तो बताएपछि स्वास्थ्य मन्त्रालयले तथ्यमा रहेरमात्र बोल्न भनेको हो।