केपी ओली रहँदासम्म अध्यक्षमा अरु विकल्प छैन, म महासचिवमा उठ्छु : पृथ्वीसुब्बा गुरुङ

Samabesi1
  |   
प्रकाशित मिति: मंसिर ०२, २०७८
85 Shares

पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशबाटै पहिलो पदाधिकारी हुने भाग्यमानी एमाले नेता हुन् । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री गुरुङ एमालेका गण्डकी प्रदेशका पूर्वइन्चार्ज पनि हुन् । हाल एमाले सचिव उनी दशौं महाधिवेशनमा माथिल्लो पदको खोजीमा छन् । सोही कारण गुरुङले आसन्न महाधिवेशनमा महासचिवमा दाबी गर्ने घोषण गरेका छन् । तर सहमतिमा नेतृत्व चयन भए उपाध्यक्ष वा उपमहासचिवमा चित्त बुझाउन सकिने संकेत पनि गरेका छन् । उनै गुरुङसँगको संक्षिप्त कुराकानीः

महाधिवेशनको तयारी कसरी गरिरहनु भएको छ ?
पहिले पार्टीको तयारी गर्नुपर्ने छ । मलाई मूल व्यवस्थापनभित्र प्रतिनिधि व्यवस्थापन समितिमा राखिएको छ । त्यही काममा लागेको छु । सातवटा भौगोलिक, उपत्यका, प्रदेश समन्वय र प्रवास कमिटी गरी १० वटा कमिटी हुने भएको छ । विधान महाधिवेशन साढे ६ हजारको उपस्थितिमा गरियो । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका कारण पार्टी कुन अवस्थामा छ भनेर हेर्नुपर्ने थियो । केही समस्या छैन, पार्टी सही सलामत छ भन्ने सन्देश दिन सफल भयौं । यो पटक जनमत कता छ भनेर हेर्नुछ ।
कम्तीमा पाँच लाख जनता चितवनमा उतार्नुपर्ने छ । गण्डकीबाट ६० हजार जुटाउने जिम्मा दिएको छ । नवलपुरबाटै ६० हजार जान्छन् । पोखराबाटै २० हजार जान्छन्, अरु जिल्लाबाट दुई हजार २५ सयका दरले जान्छन् । जनपरिचालन व्यापक रूपमा भएको छ । त्यो भन्दा ठूलो एजेन्डा नेतृत्व चयन हो । अहिलेसम्म ठोस तयारी भएको छैन । अध्यक्षले बुझ्दै हुनुहोला ।

एमालेले सबैतिर सर्वसम्मत गर्दै महाधिवेशनको मुखमा पुगेको छ, केन्द्रीय समिति पनि सर्वसम्मत हुने हो ?
सकभर सर्वसम्मत गर्ने भनेको हो । तर सर्वसम्मत गर्न गाह्रो छ । तलतिर त माथिबाट निर्देशन भएका कारण सजिलो भयो । माथि दुई सय २५ सिट छ । संख्या घटेको छ । पार्टी ठूलो हुँदा नचलेका कारण त्यसबाट शिक्षा लिएर घटाएका हौं । १५ जना मात्रै पदाधिकारी छन् । पदाधिकारीमा धेरै सर्वसम्मत हुन सक्छ । भीम रावलजी अलि असन्तुष्ट हुनुहुन्छ । उहाँ अध्यक्ष लड्ने भन्नुभएको छ । अध्यक्षज्यूसँग कसरी डिल हुन्छ हेर्न बाँकी छ । अरुतिर त सर्वसम्मत हुन्छ होला ।

पार्टी एकीकरणपछि तपाईं गण्डकी इन्चार्ज हुनुभयो । गण्डकीबाट केन्द्रीय समिति यसअघि खासै राम्रो उपस्थिति छैन, अहिले के तयारी छ ?
म मुख्यमन्त्री बन्नु केहीअघि पार्टीको इन्चार्ज भएर आएको हुँ । त्यस हिसाबले इन्चार्ज नरहे पनि अहिले पनि अभिभावकत्व मैले नै दिनुपरेको छ । सार्थीहरूले मसँग अपेक्षा गर्नुभएको छ । भौगोलिक रूपमा हेर्दा सबैभन्दा व्यवस्थित हाम्रै प्रदेशमा छ । एकीकरणसमेत राम्रो छ र आन्तरिक व्यवस्थापनमा जुन योगदान पु¥यायो, त्यस हिसाबले केन्द्रीय समितिमा हाम्रो दाबी बढी हुन्छ । विद्यमान केन्द्रीय समितिमा रहेकाहरू स्वतः रहनुपर्छ र केही नयाँ पनि लैजानुपर्छ । महिलाहरू सबै जिल्लाबाट कम्तीमा एकजना लैजानुपर्छ । पदाधिकारी १५ मध्ये तीनवटा सिटमा हाम्रो दाबा स्वाभाविक हुन्छ ।
म अहिले पदाधिकारीमा एक्लै हो । मेरो योगदानका आधारमा पार्टीले फेरि पनि मलाई सचिवमै बस भन्दैन भन्ने लागेको छ । म त्यो भन्दा माथि हुनुपर्छ । सकेसम्म महासचिव नत्र उपाध्यक्ष वा उपमहासचिव हुनुपर्छ । अरु सिटमा किरणजी, खगराजजी हुनुहुन्छ । महिला खोज्दा पद्याजी हुनुहुन्छ । अध्यक्षज्यूले पनि राम्रो मूल्यांकन गर्नुभएको छ । सकेसम्म चारजनै खोज्ने हो । नभए पनि तीन जना त पाउनै पर्छ । ४५ जनाभित्र सात जनामा गण्डकीको दावा हुन्छ ।

तपाईंको उम्मेदवारी चाहिँ केमा हुनेछ ?
मैले खोजेको महासचिव नै हो । किनभने एमालेभित्र जुन समस्या छ, त्यसको बेलैमा समाधान गर्नुपर्ने छ । त्यसमा मेरो भिजन छुट्टै छ । समस्याको पहिचान मैले गरेको छु । उदारवाद, अवसरवाद, संकीर्णतावाद, जडशूत्रवाद र सांगठानिक अराजकता छ । त्यसको अन्त्य गरेर समावेशी एमाले बनाउनुपर्ने छ । जनतामा आधारित, अनुशासित, एकताबद्ध र भावनात्मक रूपमा एकताबद्ध एमाले बनाउनुपर्ने छ ।
केन्द्रीय बैठकमा जाँदा संगठनको बारेमा कसैले नयाँ पनि दिएको छैन । अरु पार्टीमा विभिन्न सेना भन्छन्, हामीले निर्माणको सेना भनेका छौं । जनप्रतिनिधिहरू निर्माणमा लाग भनेका छौं । तर कसरी परिचालन गर्ने भनेर ठोस अवधारणा बनेको छैन । संगठन र पार्टीबीच तथा संगठन–संगठनबीचको सम्बन्ध कसरी राख्ने भनेर ठोस अवधारणा बनाउनुभएका साथीहरू देख्दिनँ । त्यसकारण मैले महासचिवका लागि डिजर्व गर्छु । अरु पार्टीबाट आउने साथीहरूलाई डिल गर्ने कुरामा पनि म तयार छु । अरु घिसिपिटी हिसावले चल्नुभएको छ । मैले आन्तरिक एकतामा समेत विशेष योगदान गरेको छु । त्यो नाताले पनि काम गर्न सक्ने आत्मविश्वास छ ।

महासचिवमा धेरैजना दाबेदार हुनुहुन्छ नि, जितिन्छ चुनाव ?
मैले अध्यक्षज्यूलाई महासचिवमा दाबी गर्छु भनेर जानकारी गराइसकेको छु। यो पदमा धेरैको दाबी छ । प्रतिस्पर्धा धेरै छ, महासचिव पद एउटा मात्रै छ । त्यहाँ मिलेन भने उपाध्यक्ष वा उपमहासचिवमा राख्नुहोला । प्रतिस्पर्धा नै गर्नुपरे म महासचिवमा पनि जित्छु । केपी ओलीसँग नजिकका मान्छेको मात्रै साथ छैन, १० बुँदेबाट आएका सबै साथीको सहानुभूति छ । पार्टी एकतामा मैले धेरै सहजीकरण गरेको बुझाई उहाँहरूको छ । विभाजनका बेला एमालेमै रहनुभएका तत्कालीन माओवादी केन्द्रका साथीहरूको साथ मलाई छ । पिएस गुरुङ एमालेभित्रको व्यावहारिक नेता छ भन्ने बुझाइ छ । म संगठन विभागमा हुँदा धेरै व्यवस्थापन गरेको छु । म अहिले नहुँदा व्यवस्थापन भएको छैन । चुनावै भए पनि जित्छु भन्ने विश्वास छ ।

तपाईं सहमतिमा हुँदा अरु पदमा जान सक्ने भन्नुभयो, महासचिवमा तपाईंले सघाउने र उपयुक्त उम्मेदवार चाहिँ को हो ?
विष्णु पौडेल नेकपाकै महासचिव हुनुभएको हो, स्वतः दावा रहला । अर्को महासचिव (ईश्वर पोखरेल) दुई कार्यकाल सक्नुभएको छ । उहाँ वरिष्ठ उपाध्यक्षमा जाने होला कि उहाँ पनि महासचिवमा रहनुहोला । शंकरजीले पनि महासचिव हुन्छु भन्नुभएको छ, तर उहाँ अघिल्लो पटक उपमहासचिवमा हार्नुभएको हो । सुरेन्द्र पाण्डे पनि महासचिवमा उठेको भन्नुभएको छ । तर त्यो सही तर्क होइन । एउटा गुटको नेतृत्वमा चुनाव लड्नुभएको हो । म पनि छु । यिनैमध्ये अध्यक्षले कसैलाई बस भन्नुहोला । किनकि यो एकताको महाधिवेशन हो । फेरि एमालेमा चुनावबाट एकता हुँदैन भन्ने छ । म त्यो मान्दिनँ, एकता चुनावबाट पनि हुन्छ । सहमति भयो भने त चुनाव नभए पनि भइहाल्यो ।
साविकमा केपी ओलीसँग बसेका एमाले, एमाले इतर पक्ष आन्तरिक एकता हुन आएका, बादलजीसँग आएका अर्को धार र अन्य विभिन्न पार्टीबाट आएको अर्को धार गरेर चारवटा धार मिलाएर लैजानुपर्ने छ । भेगीय, समुदाय र क्षेत्रीय हिसाबले समावेशी भयो भने एकताको महाधिवेशन हुन्छ । एकता महाधिवेशनको अर्थ रहन्छ । त्यसलाई समेटिएन भने एकताको महाधिवेशन हुँदैन भन्ने बुझ्नु भए हुन्छ ।

ओलीसँग अध्यक्षको प्रतिस्पर्धा गर्ने अरु कोही नेता एमालेमा छैन ? 
हुन सक्छ । म किन नहुने भनेर घनश्यामजीले पनि भन्नुभएको छ । उठ्नै हुँदैन भन्ने पनि छैन । चित्त बुझेन भने उठ्न सक्नुहुन्छ । चुनाव हुने एउटा कुरा हो, चुनाव भए वा नभए पनि अध्यक्ष केपी ओली नै हो । परिस्थिति त्यस्तो बन्यो ।

केपी ओलीकै कारण तपाईं मुख्यमन्त्रीबाट च्यूत हुनुपर्‍यो । उनैको पक्षमा यतिसम्म खुलेर किन लाग्नुभएको ?
त्यो त एउटा आग्रहको कुरा मात्रै हो । त्यो काम केपी ओलीको मात्रै होइन । माधव नेपालको पनि दोष छ । त्यत्रो बहुमतले गरेको निर्णय नमानीकन अपमान गर्‍यो भनेर निर्णय विपरीत अर्को पार्टीको नेतालाई भोट हालेर आफ्नो नेतालाई सत्ताच्यूत गर्नु गलत हो नि ।
पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले ओलीले केही गल्ती गरेनन् भन्दिनँ । ब्रम्हा, विष्णु, महेश्वर जस्तो भन्न खोजेको होइन । मान्छे आफैमा पूर्ण हुँदैन । मेरो पनि गल्ती होला । जुन ढंगले कुरा आइरहेको छ, आफ्नो लालचाका लागि गरिएका हुन् । एक्लो घेराबन्दी गरेर, एमालेलाई घेराबन्दी गरेर शेरबहादुरलाई साथ दिएको छ, सबै सामना केपी ओलीले गरे । सारमा भन्दा पार्टीलाई एकताबद्ध बनाइराख्न उहाँकै भूमिका छ । सबै खालका प्रहारको डिफेन्स ओलीकै नेतृत्वमा भयो । पार्टीभित्रैबाट केपी ओलीको विकल्प देखिँदैन, एकता प्रक्रियामा आएकाहरूमा पनि त्यो देखिँदैन । केपी ओली नहुँदा को हुने भन्ने प्रश्न आउन सक्छ । ओली रहँदासम्म अरु विकल्प छैन ।

मिलाउने प्रक्रिया हुँदा माओवादी केन्द्र र १० बुँदेपछि एकतामै रहेकालाई कसरी मिलाउनु हुन्छ ?
एकताको महाधिवेशन भनेकै यही हो । एकताको अर्थ त्यतिबेला पूरा हुन्छ, जतिबेला हामीले तीनवटै धार एड्जष्ट हुन्छन् । पद विभाजन, माइक्रोम्यानेजमेन्टमा सबैको प्रत्याभूति हुन्छ ।

एमालेबाट अध्यक्ष नै हुनुहुन्छ, माओवादीको नेतृत्व कसले गर्ने र एमालेमा रहेका माधव पक्ष भनिएकाहरूको नेतृत्व कसले गर्छ ?
अब त्यसमा समूहगत भागबन्डा हुँदैन । पृष्ठभूमिमा जे भए पनि अब उनीहरू एमाले हो । ओली अध्यक्ष भएपछि उपाध्यक्ष अर्कोलाई, महासचिव अर्कोलाई भन्ने हुँदैन । त्यो गर्दा भावनात्मक एकता हुँदैन । फेरि वरिष्ठ उपाध्यक्ष हुन हुँदैन भन्ने पनि होइन । सबैलाई मिलाएर लैजाने हो, सबैको प्रतिनिधित्व हुन्छ । तर गुटगत उपस्थिति रहँदैन ।

Samabesi1
प्रकाशित मिति: मंसिर ०२, २०७८
85 Shares
Footer ads