सामुदायिक कुकुरलाई व्यवस्थापन गर्दै खैरहनी नगरपालिका,धमाधम वन्ध्याकरण गरिदै
चितवन,६ वैशाख ।
चितवनको खैरहनी नगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनको काम सुरु गरेको छ । त्यस्ता कुकुरका कारण सडक दुर्घटनादेखी अन्य विभिन्न समस्या निम्तिन थालेपछि सोमवारदेखी व्यवस्थापनको काम थालिएको हो । नगरपालिकाको नगर सभा मार्फत सामुदायिक कुकुर व्यवस्थापन कार्यक्रम संचालन गर्ने कार्यक्रम पारित गरेको थियो । सोही अनुसार नगर क्षेत्र भित्र रहेका सामुदायिक कुकुर व्यवस्थापनका लागि वन्ध्याकरण गर्ने अभियान सुरु गरिएको नगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक एवं खैरहनी १ का वडाध्यक्ष भुमि प्रसाद कडेंलले जानकारी दिए । सामुदायिक कुकुरको वढ्दो विगविगीले हैरानी खेप्नु पर्ने वाध्यता छ समिति संयोजक कडेंलले भने– नगरको यो प्रयासले कुकुरबाट खेप्नु पर्ने अनावश्यक हैरानी न्युनिकरण हुन्छ । सामुदायिक कुकुरले वाख्रा ,कुखुरा खाने,मान्छे,गाईवस्तुलाईनै टोक्ने,सडक दुर्घटना जस्ता घटना भईरहेका छन् ।
हिमालयन एनिमल रेस्क्यु ट्रष्ट नामक संस्थाको प्राविधिक सहयोगमा वन्ध्याकरणको काम भएको हो । पहिलो दिन वडा नम्वर १,२ र ४ का ३० वटा सामुदायिक कुकुरको वन्ध्याकरण गरिएको नगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख इन्जिनियर निर्मलबाबु अर्यालले वताए । उनका अनुसार भाले र पोथी दुवै कुकुरको वन्ध्याकरण गरिएको छ । हिमालयन एनिमल रेस्क्यु ट्रष्टका डाक्टरसहित प्राविधिक टोली स्वयम समुदायमा गई कुकुर समाएर वन्ध्याकरणमा खटिएका शाखा प्रमुख इन्जिनियर अर्यालले जानकारी दिए । वन्ध्याकरणसंगै ति कुकुरहरुलाई रेविजको सुई समेत लगाईएको छ । कुकुर वन्ध्याकरणका लागि वडा मार्फत तथा संचार माध्यम मार्फत सुचना प्रवाह गरिएको थियो । स्थानीयको माग अनुसार यो कार्यक्रमलाई थप गर्न सकिने नगरपालिकाले जनाएको छ ।