प्रदेश प्रमुखको पत्र पढेर स्थगित भयो प्रदेशसभा बैठक

मोरङ,७ माघ ।

प्रदेश १ प्रदेशसभा बैठक स्थगित भएको छ ।

आज सुरू भएको हिउँदे अधिवेशन प्रदेश प्रमुखले पठाएको पत्र बाचनसँगै स्थगित भएको हो ।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र पढे लगत्तै अर्को सूचना जारी नभएसम्मका लागि संसद बैठक स्थगित गर्ने सहमति भएको हो ।

नेकपाका प्रमुख सचेतक बुद्धिबहादुर राजभण्डारीले प्रदेश प्रमुखले पठाएको संसदको हिउँदे अधिवेशन सुरु भएको पत्र पढेपछि बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको जनाएका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएसँगै सत्तारूढ दल नेकपा विभाजन भएको छ । विभाजनसँगै विभिन्न प्रदेशका सरकार संकटमा परेका छन् ।

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–नेपाल समूहका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संकट देखिएको छ ।