वाग्मती प्रदेशमा बढ्यो सवारी दुर्घटना

चितवन, ७ माघ ।

वाग्मती प्रदेशअन्तर्गतका १० जिल्लामा सवारी साधनबाट हुने दुर्घटना बढ्दै गएको छ । वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, चितवनकाअनुसार पछिल्लो तीन वर्षमा प्रदेशअन्तर्गतका जिल्लाहरुमा दुर्घटना बढ्दै गएको हो ।
प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले दुर्घटना बढेको भए पनि मृत्यु हुनेको संख्या भने घट्दै गएको बताउनुभयो । आर्थिक वर्ष २०७५÷७६मा वाग्मती प्रदेशमा ३७६ वटा सवारी साधन दुर्घटनामा परेका थिए । सो दुर्घटनामा परेर २६१ जनाले ज्यान गुमाउँदा ७९६ जना घाइते भएका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा प्रदेशका १० जिल्लामा ४४८ वटा सवारी साधन दुर्घटना हुुँदा २६३ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर एक हजार २०१ जना घाइते भएका कोइरालाले बताउनुुभयो । त्यस्तै चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिमा ६७५ वटा सवारी साधन दुर्घटना हुँदा १४२ जनाको ज्यान गएको छ ।

उपत्यकाका तीन जिल्लाबाहेक अन्य जिल्लाहरु वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनको मातहतमा पर्दछ । दुर्घटना बढ्नुको कारण उल्लेख गर्दै कोइरालाले सडकको अवस्थाका कारण दुर्घटना बढेको बताउनुभयो । ३०÷३५ वर्ष अगाडि निर्माण भएका सडकमा त्यो बेलाको भन्दा ३०० गुणा बढी सवारी साधन गुड्ने उहाँको भनाइ छ । साँघुरो सडक, सवारी साधनको यान्त्रिक खराबी, चालकको लापरबाहीलगायतका कारण दुर्घटनामा वृद्धि भएको उहाँको भनाइ छ ।