अवैध लागूऔषध सहित १४ जना प्रहरी फन्दामा

चितवन , ७ माघ

कास्की, कञ्चनपुर, पर्सा, सिरहा, झापा र सुनसरीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ परेका छन । कास्की पोखरा महानगरपालिका-१७ हिमचुली मार्गबाट नियन्त्रित लागूऔषध १० एम्पुल डाईजेपाम, १० एम्पुल फेनारगन, १० एम्पुल नुर्फिन, नगद १८ हजार रुपैयाँ र २ थान मोबाइल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने बर्दिया ठकुरद्वार नगरपालिका-८ घर भएका २९ वर्षीय मिन रानाभाट र बाँके कोहलपुर नगरपालिका-१७ घर भएका २७ वर्षीय बिशाल राना मगर रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले मिन रानाभाटको कोठाबाट उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरबाट ७० ग्राम अवैध लागूऔषध चरेश सहित सोही ठाउँमा होटल व्यवसाय गर्ने ४१ वर्षीय देबेन्द्र बहादुर कठायतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनको साथबाट उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो ।