रत्ननगरको निति : किसान कल सेन्टर संचालन गर्ने
ध्रुवराज खनाल
चितवन, ६ असार ।
पूर्वी चितवनको रत्ननगर नगरपालिकाले किसानलाई मध्यनजर गर्दै किसान कल सेन्टर संचालन गर्ने निति लिएको छ । त्यसका लागि नगरपालिकाले संचालन निर्देशिका तयार पारिसकेको छ । आईतवार सुरु भएको नगर सभामा यो निर्देशिकाले प्रवेश पाएको छ । निर्देशिका पारित भएपछि आगामी आर्थिक वर्षदेखी किसान कल सेन्टर संचालनमा आउने छ । कृषकहरुको कृषि उत्पादन,उत्पादकत्व र पशुपंक्षी तथा कृषि प्रसार सेवालाई प्रभावकारी कार्यान्वयनका लागि टोल फ्रि किसान कल सेन्टर संचालन गर्न लागिएको नगर प्रमुख नारायण वनले वताए । कृषक समुदाय,कृषि उद्यमी,व्यवसायि,कृषि सहकारी,कृषक समुहहरुको संख्याको अनुपातमा कृषि प्राविधिकको संख्या धेरै कम भइको हुनाले आवश्यक परेको वेला परामर्श सेवा र प्राविधिक सहयोग पाउन नसकेको गुनासो आएपछि किसानहरुलाई टेलिफोनको माध्यमबाट विज्ञहरुसंग जोड्ने र प्राविधिक ज्ञान दिन कल सेन्टरले महत्वपूर्ण भुमिका खेल्ने नगर प्रमुख वनले वताए । दुधको विविधिकरण गरि कृषकहरुको आम्दानी वढाउने उदेश्यले नगरपालिकाले नयाँ कार्यक्रम ल्याउन लागेको नगर प्रमुख वनले वताए । कोभिडका कारण दुध र दुग्धजन्य पदार्थ वेचविखनमा समस्या देखिएकाले दुधबाट पाउडर दुध वनाउने कारखाना रत्ननगर ९ मा यस अगाडीनै व्यवस्था गरिएको जग्गामा स्थापना गर्न प्रदेश सरकारसंग अनुरोध गर्ने समेत नगरपालिकाले जनाएको छ ।
कोभिड विरुद्धको खोप सुनिश्चित गरि नगरवासी सवैमा खोप लगाईने निति लिएको रत्ननगरले नेपाल सरकारबाट प्राप्त खोप अपुग भएमा नगरपालिका स्वयमले खरिद गरि खोप लगाउने व्यवस्था मिलाउने जनाईएको छ । समयमै स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्दै नगरमा थप एक एक थान एम्वुलेन्स र शव वहानको व्यवस्था गरिने कार्यक्रम राखिएको छ । नगरका युवाहरुलाई उत्प्रेरित गरि सामाजिक तथा उद्यमशीलताको क्षेत्रमा आकर्षण गर्न हरेक वर्ष अन्तराष्ट्रि युवा दिवसको अवसरमा ५ जना युवाहरुलाई नगर आर्दश युवा पुरस्कार दिई सम्मान गरिने नगरपालिकाले जनाएको छ । पत्रकारीता क्षेत्रमा आवद्ध पत्रकारहरुको क्षमता अभिवृद्धी गर्दै पत्रकार आचारसंहिता,पत्रकारिताको महत्व र चुनौती लगायतका विषयहरुमा जानकारी गराउन प्रशिक्षण कार्यक्रम संचालन गरिनुका साथै नगरका क्रियाशिल पत्रकारलाई लजिस्टिक सर्पोट लगायत अन्य सहयोग गरि विकासका लागि संचार भन्ने अभियानका साथ उपप्रमुखसंग संचारकर्मी कार्यक्रम संचालन गरिने नगरपालिकाले ल्याएको निति तथा कार्यक्रममा उल्लेख छ ।
नगर सभामा विषयगत समितिका संयोजकहरुबाट प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । न्यायिक समिति,राजश्व परामर्श समिति र अनुगमन समितिबाट संयोजक तथा नगर उपप्रमुख विमला दुवाडी,विधायन समितिबाट संयोजक तिलकराज शर्मा,पूर्वाधार विकास समितिबाट संयोजक हरिकुमार श्रेष्ठ,वन,वातावरण तथा विपद व्यवस्थापन समितिबाट संयोजक वलराम दाहाल,सामाजिक विकास समितिबाट संयोजक केशव आचार्य,आर्थिक विकास समितिबाट संयोजक गुप्तनाथ भट्टराई,लेखा समितिबाट संयोजक लालवहादुर भट्ट,सार्वजनिक सेवा तथा क्षमता विकास समितिबाट संयोजक चित्रवहादुर श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल भएको छ ।