पानीको धारा जोडिएपछि चेपाङको मुहारमा खुसी

विचित्र पौडेल
चितवन, ८ माघ ।

खोलाबाट बोकेर ल्याएको पानी खानुपर्ने बाध्यतामा रहेका चितवनको इच्छाकामना–१ थाप्राङका चेपाङ समुदाय घरघरमै पानीको धारा जोडिएपछि खुसी भएका छन् । सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा चिनिने इच्छाकामना गाउँपालिकाको विकट चेपाङ बस्ती थाप्राङमा एक घर एक धारा निर्माण गरिएको हो ।

इच्छाकामना गाउँपालिका, डब्लुएचएच, नेपाल ग्रामीण पुनर्निर्माण संस्था र स्थानीयको सहभागितामा थाप्राङमा खाने पानीको ट्याङकी निर्माण सहित ७१ वटा धारा जडान गरिएको हो । गाउँमा पानी नहुँदा खोलाको पानी खानुपर्ने बाध्यता रहेको र असुरक्षित पानीले झाडापखाला लगायतका विभिन्न सरुवा रोग लाग्ने गरेको स्थानीय बालकुमारी चेपाङ बताउँछिन् ।

एक घर एक धारा अभियान अन्तरगत थाप्राङमा ४५ दिनमा ७१ वटा धारा जडान गरि स्थानीयलाई हस्तान्तरण गरिएको छ । धारा जडान गरिएको ७१ घर नै चेपाङ जातिको बसोबास रहेको अत्यन्त दुर्गम गाउँ हो । थाप्राङ टोल विकास संस्थाका अध्यक्ष सुन बहादुर चेपाङले पिछडिएको चेपाङ समुदायले पानीको अभावका कारण सरसफाइमा ध्यान नदिने गरेकोमा पानीको सहज पहुँच भएपछि उनीहरुको दैनिकी परिवर्तन हुने बताए ।

घरमा जडान गरिएको धारामा पानी आएपछि अब घरघरमा शौचालय निर्माण गरिने स्थानीयले बताएका छन् । विसं. २०६८ सालमा नै चितवन खुला दिसामुक्त जिल्ला घोषणा भइसके पनि थाप्राङका ११ घरमा मात्र शौचालय निर्माण गरिएको छ । इच्छाकामना गाउपालिका अध्यक्ष गीता गुरुङले हस्तान्तरण कार्यक्रममा बोल्दै एक घर एक धारा अभियान अन्तरगत यस दुर्गम बस्तीको घरघरमा खानेपानी सहितको धारा छोटो समयमै निर्माण गर्न सफल भएको बताइन् । अब यहाँका जनताहरुले खानेपानी टाढाबाट बोक्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

गाँउपालिकाबाट छ लाख ८३ हजार ८६३ रुपैयाँ, जनश्रमदानबाट चार लाख ४५ हजार ६३४ रुपैयाँ तथा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको २० लाख १५ हजार ७९१ रुपैयाँ गरि ३१ लाख ४५ हजार २६१ रुपैयाँ लगानीमा धारा र खानेपानी ट्याङ्की निर्माण गरिएको हो ।