प्रतिनिधिसभा विघटन विरुद्ध चितवनमा विद्यार्थीको प्रदर्शन

प्रतिनिधिसभा विघटन विरुद्ध चितवनमा विद्यार्थीको प्रदर्शन

चितवन, ०९ फागुन ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन ल्याएको भन्दै चितवनमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमको विरुद्ध भन्दै विद्यार्थीहरुले आइतबार भरतपुरको चौबीसकोठीमा विरोध गरेका हुन् ।
समाजवादी विद्यार्थी युनियन चितवन, समाजवादी युवा संघ र जनता समाजवादी पार्टी नेपाल भरतपुर महानगर समिति चितवनले संयुक्त रुपमा विरोध सभा गरेका हुन् । विरोध सभाका क्रममा जनता समाजवादी पार्टीको केन्द्रीय परिषद् सदस्य विनोद रेग्मीले आन्दोलनबाटै प्रतिगमन सच्चाउने बताए । केपी ओलीले संवैधानिक कू गरेको भन्दै यसको विरुद्धमा सम्पूर्ण नागरिकहरु सडकमा उत्रिनुपर्ने बताए ।
सो कार्यक्रममा जनता समाजवादी पार्टी चितवनकी अध्यक्ष एलिना मियाँले केपी ओली इतिहासकै निरंकुश शाशक बन्न खोजेको बताइन् । ओलीको कदमले संविधान नै संकटमा परेको भन्दै संविधानको रक्षाका लागि भए पनि संसद् पुनःस्थापना हुनुपर्ने मियाँको भनाइ थियो । संसद् पुनस्थापना नभएसम्मका लागि जनता समाजवादी पार्टीको आन्दोलन जारी रहने उनले बताइन् ।
विरोध सभामा समाजवादी विद्यार्थी युनियनका भरतपुर महानगरपालिका उपाध्यक्ष अनुज जोशीले केपी ओलीको विरुद्धमा सम्पूर्ण विद्यार्थीहरु एकजुट भएर आन्दोलनमा उत्रिनुपर्ने बताए । लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धीहरु संसद् विघटन हुँदा गुम्ने खतरा भएको जोशीको भनाइ छ ।