शिव पौडेलका हत्यारालाई आममाफी दिएकोमा परिवारको आपत्ति

शिव पौडेलका हत्यारालाई आममाफी दिएकोमा परिवारको आपत्ति

चितवन, ०९ फागुन ।
तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्या मुद्दा सजाय पाइरहेका तीन जनाले आममाफी पाएको भन्दै पौडेलको परिवारले आपत्ति जनाएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर आममाफी पाउने चितवनका कारागारका १३ कैदीमध्ये तीन जना शिव पौडेलको हत्या मुद्दामा सजाय भोगिरहेका व्यक्ति थिए ।
कारागारभित्रै पौडेलको हत्या गरिएको मुद्दामा प्रत्यक्ष रुपमा संलग्न भएका व्यक्तिलाई आममाफी दिइदा कानुनमाथि नै प्रश्न खडा भएको आइतबार भरतपुरमा पात्रकार सम्मेलन गर्दै पौडेलकी श्रीमती विनु रायमाझी पौडेलले बताइन् । भरतपुर १ को केराबारीमा भएको गोली काण्डको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका शिव पौडेलमाथि भरतपुर कारागारभित्रै आक्रमण गरिएको थियो । विसं २०६८ मङ्सिर २० गते पौडेलमाथि आक्रमण भएको थियो ।
आक्रमणमा परी गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा पुस २ गते काठमाडौँको न्यूरो अस्पतालमा मृत्यु भएको थियो । पौडेलको मृत्युपछि परिवारको जाहेरीको आधारमा २० वर्ष कारागार सजाय फैसला भएकामध्ये यही फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा फणिन्द्र श्रेष्ठ, सुनील केसी र दिल वहादुर लामालाई आममाफी दिइएको थियो । उनीहरुलाई आममाफी भएपछि परिवारले देशमा न्याय हराएको महसुस गरिरहेको पौडेलले बताइन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रपति र प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताको झुण्ड बढाउन ज्यानमाराहरुलाई आममाफी दिएको आरोप लगाइन् । एउटै परिवारका दुई भाइ मारेर सजाय भोगीरहेकालाई आममाफी दिइनु जायज नभएको पौडेलको भनाइ छ । अहिलेको घटनाले देशमा न्याय हराएको महसुस भएको पौडेलको भनाइ छ ।
शिव पौडेलका भाइ गोविन्द पौडेलको हत्या अभियोगमा तीनै जनालाई पाँच÷पाँच वर्षका लागि कैद सजाय भएको थियो । उनीहरुलाई विसं २०६६ जेठ ३ गते गोविन्द पौडेलको हत्या गरेको अभियोग लगाइएको थियो । कारागारमा रहेको समयमा सोही समूहले शिव पौडेललाई कारागारमानै रहेका सामग्रीहरुको प्रयोगगरी हत्या गरेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै पौडेलका छोरा शिविनजङ्ग पौडेलले आफूहरुले न्याय नपाउनु भनेको विडम्बना भएको बताए । कारागार भित्र २० वर्ष कैद सजाय भएका व्यक्तिलाई आममाफीका नाममा दिइएको उन्मुक्तिले आफूहरुलाई त्रास बढाएको उनको भनाइ थियो ।
पौडेलका दाजु तारा पौडेलले राज्य दण्डहीनताको पक्षमा गएको प्रतिकृया दिए । भाइको हत्या अभियोगमा कैद सजाय भोगिरहेका तीनै जना व्यक्तिले आममाफी पाएपछि अब आफूहरु पुनः कानुनी रुपमा अघि बढ्ने उनको भनाइ छ । आफूहरु मन्त्रीपरिषदको सिफारीस र राष्ट्रपतिको निर्णय विरुद्ध कानुनी लडाइमा जाने पौडेलले बताए ।
गोविन्द पौडेलकी श्रीमती रिता पौडेलले आफूहरु सामूहिक रुपमा कानुनी लडाइमा जाने बताइन् । ज्यान मुद्दामा सजाय पाइरहेका व्यक्तिलाई आममाफी दिइदा देशमा दण्डहीनता बढेको र आफूहरुलाई झन् बढी पीडा थपिने पौडेलको भनाइ थियो । शिव पौडेल मुद्दामा आफ्नो पक्षबाट बहस गरेका कानुन व्यवसायीहरुको रायसल्लाहअनुसार आफूहरु अगाडि बढ्ने पौडेल परिवारको भनाइ छ ।