बिना इजाजत औषधि ओसारपसारमा संलग्न ३ जना पक्राउ

बिना इजाजत औषधि ओसारपसारमा संलग्न ३ जना पक्राउ

 चितवन, ९ फागुन ।

बिना इजाजतका औषधि ओसारपसारमा संलग्नलाई चितवन प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका–३ बाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ३ बस्ने ३० वर्षीय दिनेश तामाङ, सोही ठाँउका २२ वर्षीय प्रदीप विश्वकर्मा र भरतपुर महानगरपालिका वडा नं. २ का १८ वर्षीय समीप तामाङ रहेका छन् ।

भरतपुर ३ कमलनगरमा डेरा गरी बस्ने दिनेश तामाङले आफ्नो डेरामा लागुपदार्थको रुपमा प्रयोग गर्ने गराउने उद्देश्यले बिना इजाजतका औषधिहरु बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ट्रामा ९९४३ ट्याब्लेट, अनार्गन ४३६ ट्याब्लेट, स्टागन १२४० ट्याब्लेट, रेडमी मोबाइल दुई थान, नगद १ लाख ४६ हजार रुपैयाँ, सामसुङ मोबाइल १ थान र आइफोन मोबाइल १ थान बरामद गरिएको छ । बरामद औषधिहरु, नगद र पक्राउ परेका मानिसहरुका सम्बन्धमा औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिनुभयो ।