शुक्लागण्डकीमा शीतभण्डार निर्माण शुरु
–कृष्ण न्यौपाने
दमौली, ८ वैशाख ।
तनहुँको शुक्लागण्डकी नगरपालिकामा शीतभण्डार निर्माण शुरु भएको छ । सङ्घीय सरकारको सशर्त बजेट अनुदान र नगरपालिकाको बजेटबाट शुक्लागण्डकी नगरपालिका–८ सङ्गमटोलमा शीतभण्डार निर्माण शुरु गरिएको हो ।
कृषकले उत्पादन गरेका कृषि उपज वस्तु शीतभण्डारमा राखेर जुनसुकै बेला पनि बिक्री गर्न सक्ने व्यवस्था मिलाउन शीतभण्डार निर्माण शुरु गरिएको शुक्लागण्डकी नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार शीतभण्डार निर्माणका लागि सङ्घीय सरकारले रु एक करोड सशर्त अनुदान बजेट उपलब्ध गराएको छ भने नगरपालिकाले रु दुई करोड लगानी गरेको छ । कूल रु तीन करोडको बजेटमा बोलपत्र प्रक्रियाबाट निर्माण कार्य शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
शीतभण्डारलाई नगरपालिकाले गौरवको योजनाको रुपमा सूचीकृत गरेको छ । लामो समयदेखि लालिमस्थित सिर्जनशील महिला समाजले संरक्षण गरेको सार्वजनिक जग्गामा शीतभण्डार निर्माण थालिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । नगर क्षेत्रभित्र उत्पादित कृषि सामग्री सस्तोमा बेच्दा श्रमको मूल्य नउठ्ने समस्या भएपछि शीतभण्डार निर्माणको आवश्यकता खड्किएको थियो । “यस वडामा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ, तर पनि किसानले उत्पादन गरेका आलुको उचित मूल्य पाउन गाह्रो भइराखेको थियो, “उहाँले भन्नुभयो, “शीतभण्डार निर्माण सम्पन्न भएपछि यो समस्या हट्छ ।”
कृषकले उत्पादन गरेका आलु शीतभण्डारसम्म पुर्याउन वडा कार्यालयले नै व्यवस्थापन मिलाउँदै आएको छ । शीतभण्डारसम्म आलु ढुवानीका लागि यस वर्ष रु दुई लाख बजेट विनियोजन गरिएको थियो । कृषकलाई आत्मनिर्भर बनाउन यस वडामा आलुको बीउ वितरण गरिएको थियो । किसानलाई ५० प्रतिशत अनुदानमा ३० हजार २०० किलो बीउ आलु वितरण गरिएको थियो ।
‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिरहेको शुक्लागण्डकीले वडा नं ८ मा आलु उत्पादनलाई प्राथमिकतामा राखेको छ । उक्त कार्यक्रमलाई सघाउन सङ्घीय सरकारले यो वर्षदेखि साझेदारीमा राष्ट्रिय मसला तथा आलु बाली विकास कार्यक्रमअन्र्तगत आलु पकेट कार्यक्रम सञ्चालनार्थ रु २४ लाख बजेट पठाएको थियो ।
शीतभण्डार नहुँदा समस्या भोगेका किसान शीतभण्डार निर्माण शुरु भएपछि खुशी भएका छन् । शीतभण्डार नहुँदा उचित मूल्य पाउन नसकेको मञ्जु श्रेष्ठको गुनासो छ । सोही वडाका रमेश महतले शीतभण्डार निर्माण सम्पन्न भएपछि उत्पादनको उचित मूल्य पाउने बताउनुभयो ।
योजनाको म्याद थप गर्ने व्यासको निर्णय
व्यास नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न योजनाको म्याद थप गर्ने निर्णय गरेको छ । नगरपालिकाभित्र सम्झौता भई सञ्चालन भइरहेका योजनाको अन्तिम पटकका लागि म्याद थप गर्ने निर्णय भएको हो । त्यस्ता योजनाको म्याद आगामी जेठ १५ गतेसम्म थप गर्ने निर्णय गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मङ्गलबार बसेको कार्यपालिकाको बैठकले विभिन्न नियमावली पारित एवं संशोधन गर्ने निर्णय पनि गरेको छ । नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७८, व्यास नगरपालिका आय ठेक्का बन्दोबस्त गर्नेसम्बन्धी नियमावली २०७८, व्यास नगरपालिका स्लेट उत्खनन् तथा कटिङ उद्योग सञ्चालन कार्यविधि २०७७, व्यास नगरपालिका निर्माण व्यवसायी इजाजत पत्र नियमित गर्ने कार्यविधि २०७७ पारित गरिएको छ ।
व्यास नगरपालिका कार्यालय सङ्गठन, संरचना एवं व्यवस्थापन २०७६ लाई संशोधन प्रस्ताव पेश गर्न प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै आगामी ३५ औं नगरसभा २०७८ असार १० गते बस्ने गरी नगरसभाको आह्वान गरी वडा र नगरस्तरीय योजना छनोटको कार्यतालिका पारित गरिएको छ ।
बैठकले विद्यमान कोभिड–१९ को प्रभाव र असरलाई अध्ययन गर्दा पुन: एक पटक सम्पूर्ण नगरवासीहरुमा सतर्कता अपनाउन अनुरोध गरेको छ । स्थानीय वाणिज्य सङ्घ, विद्यालयका प्रधानाध्यापक, सुरक्षा एवं स्वास्थ्य संस्था, सञ्चारकर्मी, उपभोक्तालगायत विभिन्न सङ्घसंस्थाको परामर्शमा आवश्यक निर्णय लिने निर्णय बैठकले गरेको छ ।
नगर विकास समितिमा नियुक्त
तनहुँ उद्योग वाणिज्य सङ्घका निवर्तमान प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र व्यास नगर विकास समितिको सदस्यमा नियुक्त हुनुभएको छ । नगरपालिकाले नगर विकास समितिको रिक्त रहेको सदस्य पदमा मिश्रलाई मनोनीत गरेको हो । नगर विकास समितिको अध्यक्ष व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने रहने व्यवस्था छ ।
कछुवाको उद्धार
तनहुँको बन्दीपुर गाउँपालिकास्थित एक होटलबाट पहेंलो टाउके कछुवाको उद्धार गरिएको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित एक होटलमा पालन गरिएको कछुवाको सव–डिभिजन कार्यालय विमलनगरले उद्धार गरेको हो ।
उद्धार गरिएको कछुवालाई डिभिजन वन कार्यालय तनहँुमा पठाइने सहायक वन अधिकृत सुरेशकुमार भुजेलले जानकारी दिनुभयो । “होटलमा कछुवा छ भन्ने सूचना पाएपछि उद्धार गरेका हौँ,” भुजेलले भन्नुभयो ।
गुरुङको परिवारलाई मृत्यु दाबी भुक्तानी
जीवन बीमा गरेको चार दिनपछि निधन भएका व्यास नगरपालिका–७ दुलेपानीका चन्द्रबहादुर गुरुङको परिवारलाई मृत्यु दाबी भुक्तानी रकम प्रदान गरिएको छ । दाबी रकम बापत श्रीमती तथा छोरा मिलन गुरुङलाई रु पाँच लाख १८ हजार प्रदान गरिएको हो ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भोर्लेटार शाखामार्फत गुरुङले गत असोजमा जीवन बीमा गर्नुभएको थियो । वार्षिक रुपमा करीब रु ४७ हजार जम्मा गर्ने गरी गुरुङले बीमाङ रु पाँच लाखको बीमा गर्नुभएको थियो । कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्यसहितको टोलीले गुरुङको घरमा नै पुगी सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
शान्ति उद्यानलाई धार्मिक पर्यटकीय स्थल बनाइने
व्यास नगरपालिका–४ स्थित शान्ति पार्कलाई धार्मिक पर्यटकीय स्थल बनाउन प्रयास थालिएको छ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत शान्ति पार्कलाई धार्मिक पर्यटकीय स्थल बनाउन लागिएको हो ।
पार्कभित्र मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको छ । रु तीन करोड लागतमा निर्माण सम्पन्न भएको मन्दिरको चैतेदशैंको अवसर पारेर उद्घाटन गरिएको छ । दुई वर्ष अगाडिदेखि निर्माण शुरु भएको मन्दिर गत वर्ष सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिडका कारण बन्दाबन्दी हुँदा मन्दिर निर्माणको काम केही समय प्रभावित भएको थियो ।
शान्ति पार्कका कोषाध्यक्ष एकबहादुर रानाले कोभिडका कारण मन्दिर निर्माणमा ढिलाइ भएको जानकारी दिनुभयो । “यस ठाउँलाई धार्मिक पर्यटकीय स्थल बनाउन मन्दिरका साथै अन्य थप पूर्वाधार पनि निर्माण गर्ने योजना छ,” रानाले भन्नुभयो, “सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा थप पूर्वाधार निर्माण गर्छौ ।”
तीनतले र ५५ फिट उचाइको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको ६० वटा टुडाल हालिएको छ भने मन्दिरमा नौ फिट उचाइको गजुर राखिएको छ । मन्दिर निर्माणका लागि चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ५० लाख बजेट विनियोजन भएको थियो ।
व्यास नगरपालिकाले विनियोजन गरेको रु १० लाख र उपभोक्ता समितिको समेत गरी रु १२ लाखको लागतमा पार्कभित्र सार्वजनिक शौचालय, वडा नं ४ मार्फत् विनियोजन भएको रु १० लाखको लागतमा ८० मिटर बाटो ढलान र ४० मिटर नाला निर्माण सम्पन्न भएको छ । पार्कले चालु आर्थिक वर्षमा नै मन्दिर वरपर पर्खाल निर्माण गर्ने जनाएको छ ।
दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ भने गुरुयोजना अनुसारको थप पूर्वाधार निर्माण हुन बाँकी रहेको पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पार्कलाई गुरुयोजना अनुसार विकास गर्न रु पाँच करोडभन्दा बढी बजेट आवश्यक पर्दछ ।
सैँतीस हेक्टर क्षेत्रफलमा काँडे तारवार, १० फिट चौडाइको १ किमि पक्की सिंढी निर्माण, दुई वटा वनभोज स्थल, एउटा कुरुवा घर, सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेको छ भने रिजर्भ ट्याङ्की बनाएर खानेपानीको व्यवस्थापन गरिएको छ । पार्क स्थापना भएदेखि हालसम्म पूर्वाधार निर्माणमा रु २ करोड ६९ ४२ हजार खर्च भएको छ भने रु दुई करोड १३ लाख १३ हजार ७ सय ५४ आम्दानी भएको थियो । कालिगढलाई रु ३७ लाख र विभिन्न व्यक्तिलाई सापटीबापतको रु १८ लाख फिर्ता दिन बाँकी रहेको पार्कले जनाएको छ ।
गुरुयोजनाअनुसार पार्कमा प्रवेशद्वार, टिकट काउण्टर, पार्किङस्थल, सहिद स्मारक पार्क, बालउद्यान, पानीको फोहोरा, सानो चिडियाघर, भ्युटावर, विश्रामस्थल लगायतका पूर्वाधार निर्माण हुन बाँकी छ ।
तनहुँको सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादीनदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद शान्ति पार्क पर्दछ । यस ठाउँबाट दमौली बजारलगायत आसपासका वस्तीहरु, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोट लगायतका पर्यटकीय स्थलहरु अवलोकन गर्न सकिन्छ ।
आँबुखैरेनी गाउँपालिका भवन निर्माण
गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित तनहुँको आँबुखैरेनी गाउँपालिकाको भवन निर्माण सम्पन्न भएको छ । सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यबमोजिम गाउँपालिकाले नयाँ भवन निर्माण गरेको हो । रु तीन करोड ८ लाख ७७ हजार ४६६ को लागतमा भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । नयाँ वर्षको शुरुवातसँगै गाउँपालिकाले नयाँ भवनबाट सेवा प्रवाह शुरु गरेको छ ।
विसं २०७६ माघ २१ गते सम्झौता भई २०७८ साउन २१ गते सम्पन्न गर्नुपर्ने म्याद रहेपनि म्याद अगावै भवन निर्माण सम्पन्न भएको छ । सिजल कन्स्ट्रक्सन जेभीले सम्पन्न गर्नुपर्ने म्यादभन्दा तीन महिना अगावै भवन निर्माण सम्पन्न गरेको हो । भवनले ३२३.२२ वर्गमिटर क्षेत्रफल ओगटेको छ । भवन निर्माण सम्पन्न भएसँगै सेवाग्राहीलाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्न सजिलो हुने प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताउनुभयो ।
गाउँपालिकाले यस अगाडि कच्ची भवनबाट सेवा प्रवाह गरिरहेको थियो । “साँघुरो भवनबाट सेवा प्रवाह गर्दा असहज भइरहेको स्थितिमा नयाँ सम्पन्न भवनले सहज हुनेछ,” पोख्रेलले भन्नुभयो । नयाँ भवनबाट सेवा शुरु भएपछि हाल कार्यालय रहेको ठाउँमा बहुउद्देश्यीय भवन निर्माण गर्ने सोच गाउँपालिकाको छ । त्यसका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । “नपुग रकम आगामी वर्ष विनियोजन गर्छौ, कच्ची भवन भत्काएर बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्ने गाउँपालिकाको सोच हो,” उहाँले भन्नुभयो ।
गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले नयाँ भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यसहित निर्माण शुरु भएको भवन समयमै निर्माण सम्पन्न भएको बताउनुभयो । स्थानीय तहमा निर्वाचित भएको चार वर्षको अवधिमा आफूहरुले धेरै विकास निर्माणका काम गरेको उहाँले बताउनुभयो । “प्रत्येक वडामा विकासका काम भएका छन्, पाँच वर्षको अवधिमा सबै पूर्वाधार निर्माण गरेर छाड्ने लक्ष्य राखेका छौँ,” थापाले भन्नुभयो ।