चितवनमा स्क्रफटाइफसको बिरामी बढे, डेङ्गुका घटे
चितवन, ७ असार ।
चितवनमा गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालु आर्थिक वर्ष २०७७/७८को हालसम्म स्क्रफटाइफसका सङ्क्रमितको सङ्ख्या बढेको छ । अघिल्लो वर्षको तुलनामा डेङ्गुका सङ्क्रमित भने घटेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको हालसम्म २९३ जनामा स्क्रफटाइफसको सङ्क्रमण देखिएको छ । २ हजार ६ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये एक जनाको मृत्यु समेत भएको छ ।
गत आर्थिक वर्षमा १ हजार ५१६ जनाको परीक्षण गर्दा १२७ जनामा सङ्क्रमण देखापरेको थियो । ती मध्ये दुई जनाको मृत्यु भएको थियो । यस वर्ष १ हजार ६८९ जनाको परीक्षण गर्दा २४३ जनामा डेङ्गुको सङक्रमण देखापरेको छ ।
गत वर्ष १९ हजार २३० जनाको परीक्षण गर्दा ४ हजार ८०३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । जसमध्ये ३ जनाको मृत्यु भएको थियो ।
यस वर्ष सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ७२ जना स्क्रफटाइफस र ७३ जनामा डेङ्गु देखापरेको छ । सङ्ख्याको हिसाबले सबैभन्दा कम ईच्छाकामना गाउँपालिकामा एक जनामा स्क्रफटाइफस र दुई जनामा डेङ्गु देखा परेको छ ।
यसैगरी खैरहनीमा २३ जना स्क्रफटाइफस र २० जनामा डेङ्गु, माडीमा १२ जनामा स्क्रफटाइफस र ९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ ।
यस्तै रत्ननगरमा २८ जनामा स्क्रफटाइफस र ३० जनामा डेङ्गु, राप्तीमा १५ जनामा स्क्रफटाइफस र ८ जनामा डेङ्गु, कालिकामा १ जनामा स्क्रफटाइफस र ७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।
जिल्लामा ८० जना महिला र ७२ जना पुरुषमा स्क्रफटाइफस र ५४ जना महिला र ९५ जना पुरुषमा डेङ्गुको सङ्क्रमण देखापरेको छ ।
कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीले निषेधाज्ञासँगै मानिसहरु घरमै रहेको र सरसफाइमा बढी ध्यान दिएका कारण डेङ्गुको सङ्क्रमण घटेको बताउनुभयो । डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको रोग हो । डेङ्गु सार्ने एडिस एजिप्टाइ नामक लामखुट्टेको प्रजातिको संख्या बढेसँगै नेपालमा पनि पछिल्ला वर्षहरुमा डेङ्गुको प्रकोप बढ्दो छ ।
डेङ्गु लागेको २–७ दिनमा यस रोगका लक्षणहरु देखिन थाल्छन् । जसमा उच्च ज्वरो (१०४ डिग्री फरेनहाइट) प्रमुख लक्षण हो । साथसाथै अन्य लक्षणहरुमा टाउको दुख्ने, मांसपेसी दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, ग्रन्थी सुन्निने आदि हुन्छन् ।
स्क्रब टाइफस एउटा घातक सरुवा रोग हो । यो रोग रिकेटसिया तुसुगामुसी नामको किटाणुका कारण हुनेगर्छ । तुसुगामुसी नामको किटाणुका कारण सर्ने यो रोगका किटाणु चिगरमाइड्स भन्ने उपियाँ उडुस जस्ता साना किराले बोक्ने गर्छ । सो किराले टोकेपछि हाम्रो शरीरमा सार्ने गर्छ । खासगरी तुसुगामुसी किटाणु मुसामा हुने गर्छ ।
स्क्रब टाइफसको लक्षण टाइफाइडसँग मिल्दोजुल्दो नै हुन्छ । धेरै टाउको दुख्नु, एक्कासि ज्वरो आउनु, हल्का खोकी र आँखा रातो भई चिप्रा आउने, बाथ जिउ सुनिने, ढाड र कम्मर धेरै दुख्ने, टोकेको ठाउँमा सानो घाउ देखिने, केही समयपछि छाती तथा ढाडमा साना राता राता बिमिरा देखिने, डाक्टरले जाँचेर हेर्दा फियो, कलेजो सुनिएको पाइने, मुटुको माङ्सपेसी सुनिने, ब्लड प्रेसर घटेर जाने र अचेत हुने, नाडीको धड्कन बढ्ने र विषाक्त देखिएर अन्त्यमा मृत्युसम्म हुने यो रोगका लक्षण हुन् ।
यो रोग लाग्ने बित्तिकै घाउ बिमिरा नदेखिन पनि सक्छ । एक दुई हप्तापछि मात्र देखिन सक्छ या नदेखिन पनि सक्छ । यसैगरी कुनै भित्री भागमा घाउ हुन सक्छ । जुन घाउ नदुख्ने नपोल्ने पिप नआउने हुन्छ र पछि आफै खाटा बनी निको हुन्छ । कहिलेकाहीँ सुरुमै उपचार गरियो भने पनि देखिँदैन ।
यो रोगका कारण अन्य शारीरिक खतरा पनि हुन सक्छ । जस्तै मिर्गौला फेल हुने, मुटु फेल हुने, कडा निमोनिया हुने, मस्तिष्क ज्वोरो आउने, रगत जम्ने जस्ता समस्या देखिन सक्छ । रगत जाँचबाट यो रोग हो कि हैन भनेर थाहा पाउन सकिन्छ । सुरुमा डब्ल्यूबीसी घट्ने र केही समयपछि बढ्ने हुन सक्छ ।