देवघाटको शवदाह गृह निर्माणमा ढिलाइ

चितवन, ९ माघ । व्यवस्थित रुपमा शवदाह गर्नका लागि पवित्र तीर्थस्थल देवघाटधाममा सुरु गरिएको शवदाह गृह निर्माणको काम म्याद सकिदा १० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । दुई वर्षमा निर्माण सक्नेगरी विसं २०७५ माघमा सघन शहरी तथा भवन निर्माण आयोजनासँग सम्झौता भएको थियो ।
देवघाटको चितवनतर्फ नारायणी नदीकिनारमा निर्माण सुरु गरिएको शवदाह गृह माघ २ गते सम्झौता सकिदासम्म निर्माणको काम १० प्रतिशत मात्रै पूरा भएको आयोजनाले जनाएको छ । सम्झौताअनुसार काम गर्न नसकेको निर्माण कम्पनी मिलिनियम सिद्धगढी जेभीले पेस्की र पहिलो भुक्तानीसमेत गरी दुई करोड रुपैयाँ भन्दा बढी रकम लगिसकेको छ । कम्पनीले पेस्कीवापत एक करोड ९२ लाख रुपैयाँ र पहिलो भुक्तानीवापत १२ लाख ७८ हजार ६५३ रुपैयाँ लगेको आयोजनाका इञ्जिनीयर आशिष श्रेष्ठले बताउनुभयो ।

विसं २०७७ माघ २ भित्र शवदाह गृह निर्माण सम्पन्न गर्नेगरी ११ करोड २१ लाख आठ हजार ६४१ रुपैयाँमा निर्माण सम्झौता भएको श्रेष्ठले बताउनुभयो । देवघाट क्षेत्र विकास समितिले शवदाह गृह निर्माणस्थल नजिकै लगाएको वाल भत्किन लागेपछि सम्झौता भएको करिब एक वर्षपछि डिजाइन परिवर्तन गरेर निर्माणलाई निरन्तरता दिइएको थियो । शवदाह गृहको डिजाइन परिवर्तन भएपछि अहिले भने कामलाई निरन्तरता दिइएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले ठेकेदारले कानुन र कार्य प्रगतिअनुसार नै पैसा पाएको दावी गर्नुभयो । निर्माणस्थलमा अहिले जमिनभन्दा १० मिटर मुनिबाट पिल्लर उठाउने काम भइरहेको उहाँले बताउनुभयो । बर्खामा आउने बाढीबाट भवनलाई सुरक्षित राख्न सो काम गरिएको उहाँको भनाइ छ ।
निर्माण पक्षले एक वर्षको म्याद थप गर्न माग गरेको छ । म्याद थप गर्ने अधिकार शहरी विकास तथा भवन निर्माण विभागको हो । ढिलाइबारे विषयवस्तु खुलाएर पठाएको अर्यालले बताउनुभयो । म्याद थप गर्ने–नगर्ने विभागले निर्णय गर्ने भन्दै अर्यालले एक वर्षमा काम सक्ने आधार हेरेर म्याद थप हुनसक्ने उहाँले बताउनुभयो । कोरोना महामारीमा कामदारहरू घर गएका कारण शवदाह गृहको कामले पर्याप्त गति लिन नसकेको इन्जिनियर श्रेष्ठले बताउनुभयो । देवघाटमा चार कठ्ठा जमिनमा शवदाह गृह बनाउन लागिएको हो । शवदाह गृह निर्माण गर्न चालु आर्थिक वर्ष ०७७/७८ का लागि ५० लाख रुपैयाँ मात्रै आएको उहाँले बताउनुभयो ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले ठेकेदारलाई काममा ढिलासुस्ती गर्न निहुँ चाहिने भन्दै कोरोना र वाललाई देखाएर काममा ढिलासुस्ती भइरहेको बताउनुभयो । वर्षाको कारण करिब ६ इन्च वाल सरेको भन्दै उहाँले जति प्रगति हुनपर्ने हो त्यति नभएको बताउनुभयो । देवघाटमा दैनिक ८ देखि १२ जनाको शव दाहसंस्कारका लागि आउने गरेको घिमिरेको भनाइ छ ।