घरमा हुने सुत्केरीलाई शून्यमा पुर्‍याउने

घरमा हुने सुत्केरीलाई शून्यमा पुर्‍याउने

चितवन,९ माघ ।

खैरहनी नगरपालिकाले घरमा हुने सुत्केरी शुन्य वनाउने लक्ष्यका साथ सचेतना मुलक कार्यक्रम गरेको छ । नगरमा अझै पनि फाट्टफुट्ट रुपमा घरमै सुत्केरी भईरहेका छन् । यो अवस्थालाई शुन्यमा पुर्याएर स्वास्थ्य संस्थामै सुत्केरी गराउन नगरका प्रत्येक वडाहरुमा सचेतनामुलक कार्यक्रम गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले जानकारी दिए ।

गत वर्ष ४ वटा वडा तथा चालु आर्थिक वर्षमा वाँकी ९ वटा वडामा सचेतनामुलक कार्यक्रम गरिएको अधिकारीले वताए । प्रतिनिधीमुलक रुपमा टोल विकास संस्थाका प्रतिनिधी,आमा समुह,स्वास्थ्यकर्मी,जनप्रतिनिधी तथा सरोकारवालालाई उपस्थित गराएर कार्यक्रम गरिएको थियो ।

पुष २३ गतेदेखी माघ ८ गते सम्म वडास्तरमा कार्यक्रम भएका थिए । उनीहरुलाई गर्भावस्था,उत्तर सुत्केरी अवस्था,सुत्केरी अवस्थामा खतराका चिन्ह तथा लक्षणहरु,नवजात शिशु स्याहार,सुनौलो हजार दिनको महत्व लगायत विषयमा शाखा प्रमुख अधिकारी,उपप्रमुख रुद्र सुवेदी र सामाजिक नर्सिङ निरीक्षक पुजा गिरिले सहजीकरण गरेका थिए । खैरहनी नगरपालिकामा चालु आर्थिक वर्षको हाल सम्म ३ जनाको घरमै सुत्केरी भएको तथ्यांक छ । गत वर्ष भने पाँच जना महिलाले घरमै वच्चा जन्माएका थिए । स्वास्थ्य शाखा प्रमुख अधिकारीका अनुसार विषेशगरि विपन्न,दलित,मुसहर समुदायलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउन सचेतना आवश्यक छ ।

सरकारले सुत्केरी पश्चात गर्भवती प्रोत्साहन भत्ता,यातायात खर्च,जटिल प्रकृति र अप्रेशनमा निशुल्क,नवजात शिशुको उपचार निशुल्क गर्नुका साथै गर्भ जाँचको व्यवस्था,आवश्यक खोप र औषधी समेत निशुल्क गरेको छ । नेपाल सरकारले ९५ प्रतिशत संस्थागत सुत्केरी गराउने लक्ष्य लिएको छ ।