प्रधानन्यायाधीशलाई भेट्न किन पुगे प्रधानसेनापति सर्वोच्चमा

प्रधानन्यायाधीशलाई भेट्न किन पुगे प्रधानसेनापति सर्वोच्चमा

काठमाडौं, १० फागुन ।

प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबार सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरासँग भेटवार्ता गरेका छन्।

नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले सेनापति सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश जबरासँग भेटवार्ता गरेको जानकारी दिए। प्रवक्ता पौडेलका अनुसार सर्वोच्चले भोग चलन गरेको सेनाको स्वामित्वको नौ रोपनी जग्गा प्राप्ति र हस्तानान्तरणका विषयमा छलफल र समन्वयका लागि भेटवार्ता भएको हो। उनले अन्नपूर्ण अनलाइनसँग भने, ‘यसलाई अरु प्रसंगसँग जोड्नु आवश्यक छैन। जग्गा प्राप्ति र हस्तानान्तरणका विषयमा सामान्य छलफल भएको हो।’ सर्वोच्चले यही जग्गामा नयाँ भवन बनाउँदैछ।

संसद् विघटन सम्बन्धी मुद्दाको फैसला सार्वजनिक गर्ने तयारी भइरहेका बेला प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भएको आकस्मिक भेटवार्तालाई बाहिरबाट अर्थपूर्ण रुपमा हेरिएको छ। पुस ५ गते प्रधानमन्‍त्री केपी ओलीले गरेको संसद विघटनको मुद्दामा सर्वोच्चले यसै साता फैसला सुनाउँदैछ।