संसद् विघटनको कदम सर्वोच्चबाट सच्चिनुपर्छ: रघुजी पन्त

संसद् विघटनको कदम सर्वोच्चबाट सच्चिनुपर्छ:  रघुजी पन्त

काठमाडौं,१० फागुन ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड- नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले संसद विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्ने बताएका छन्।

नेपाल दलित मुक्ति संगठनले प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार काठमाडौंमा आयोजना गरेको विरोध र्‍यालीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पन्तले असंवैधानिक रूपमा भएको संसद विघटन सर्वोच्च अदालतको फैसलाद्वारा सच्चिन सम्भव भएको बताएका हुन्।

सर्वोच्च अदालतले कसैको जुलुस हेरेर नभई नेपालको संविधान हेरेर फैसला गरी संसद पुनर्स्थापना गर्नेमा विश्वास रहेको बताए।जनतालाई जागरूक बनाउन र संसद पुनर्स्थापनाको पक्षमा जनमत बनाउन निरन्तर विरोध प्रदर्शन भइरहेको र सर्वोच्चको फैसला नआउञ्जेलसम्मलाई विरोधको कार्यक्रम जारी रहने पनि पन्तले बताए।

माइतीघर मण्डलादेखि बानेश्वरसम्म भएको र्‍यालीमा प्रदर्शनकारीहरूले संसद पुनर्स्थापनाको माग गर्दै नाराबाजी समेत गरेका थिए। नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिका संयोजक दलजित श्रीपाइलीले संसद विघटन गरी प्रधानमन्त्री ओलीले देशमा अस्थिरता पैदा गरेको बताए।

संविधान, गणतन्त्र, संघीयता, धर्म निरपेक्षतामाथि ‘कू’ भएको भन्दै संयोजक श्रीपाइलीले संविधानमा भएका दलितका अधिकारहरू समेत खोसिएको अनुभूति भएकाले संसद पुनर्स्थापनाको पक्षमा आन्दोलन गर्नुपरेको बताए।

 

प्रदर्शनकारीहरूले दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको संवैधानिक हक सुनिश्चित गरौं, समानुपातिक समावेशीकरण तथा धर्म निरपेक्षताको रक्षा गरौं, सामाजिक न्यायसहितको समृद्धिको आधार निर्माण गरौं, प्रतिनिधिसभाको पुनर्स्थापना गरी संविधानको रक्षा गरौं लगायतका प्लेकार्डको प्रदर्शन गरेका थिए।