एक दुई तीन चुनाव हुन्छ तपाईहरु ढुक्क हुनुहोस् : उपप्रधानमन्त्री पोखरेल

एक दुई तीन चुनाव हुन्छ तपाईहरु ढुक्क हुनुहोस् : उपप्रधानमन्त्री पोखरेल

चितवन, १० फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । बाहिर जसले जस्तो सुकै हल्ला गरे पनि निर्वाचन हुनेमा आशंक नगर्न पोखरेलले आग्रह गर्नुभएको हो ।
चितवनको भरतपुरमा आज आयोजित नेकपा जिल्ला अधिवेशन आयोजक कमिटी चितवनको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । लोकतन्त्रमा विश्वास राख्ने सम्पूर्ण राजनीतिक शक्तिहरु निर्वाचनमा जाने भन्दै पोखरेलले बाहिर गरिएको हल्लाको पछि नलाग्न समेत कार्यकर्तालाई आग्रह गर्नुभयो ।
‘कतिपय साथीहरुले मलाई सोध्नुहुन्छ, हैन हजुर हुन त हुन्छ चुनाव ?’ उहाँले भन्नुभयो, ‘चुनाव नभए के हुन्छ त ?, चुनाव हुन्छ । एक, दुई, तीन चुनाव हुन्छ । तपाईँहरु त्यसमा ढुक्क हुनुहोस् ।’ सर्वोच्चले के फैसला गर्छ भन्ने धेरैको प्रश्न रहेको उहाँले ताजा जनादेशमा जाने कुरा अनुपयुक्त नहुने उहाँको भनाइ छ । ‘ताजा जनादेशमा जाने हो त्यसको तयारी गर्नुहोस्’ पोखरेलले भन्नुभयो, ‘चिन्ह के पाउँछ कल्ले पाउँछ भन्ने कुरा साथीहरुको चिन्ताको विषय छ, तपाईँहरुलाई के भन्न चाहान्छु भने, केपी ओलीले नेतृत्व गरेको नेकपालाई छोडेर अरु कसैले सूर्य चिन्ह पाउँदैन ।’
उहाँले अगाडि थप्नुभयो, ‘यो तपाईँहरु लेखेर राख्नुस् केपी ओलीले नेतृत्व गरेको नेकपा बाहेक सूर्य चिन्ह अरु कसैले पनि पाउँदैन ।’ केपी ओलीले नेतृत्व गरेको नेकपाले सूर्य नपाउने तर अरुले त्यो चिन्ह पाउने कुरा नहुने पोखरेलको भनाइ थियो । निर्वाचनका तयारीका लागि सबै सुरक्षा निकाय तथा निर्वाचन आयोगसमेत तयार रहेको उहाँको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला अधिवेशन आयोजक कमिटी चितवनले आजै ५९९ सदस्यीय कमिटी घोषणा गरेको छ । पार्वती रावलको अध्यक्षतामा जिल्ला कमिटी घोषणा गरेसँगै उनीहरुलाई सचिवालय सदस्य पोखरेलले सपथ खुवाउनुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका वाग्मती प्रदेश सहईन्चार्ज काशिनाथ अधिकारी, प्रदेश अध्यक्ष आनन्द पोखरेललगायतले संसद् विघटन गर्नुपर्ने बाध्यताबारे जनतालाई बुझाउनुपर्ने बताउनुभयो ।