होटलको स्तरीकरणबारे अभिमुखीकरण

होटलको स्तरीकरणबारे अभिमुखीकरण

चितवन, १० फागुन ।
होटलहरुले अपनाउनुपर्ने खाद्य स्वच्छताको विषयमा होटल व्यवसायीहरुलाई लक्षित गरेर अभिमुखीकरण गरिएको छ । होटल स्तरीकरण तथा लोगो वितरण कार्यक्रम अन्तर्गत नारायणगढ र भरतपुर क्षेत्रका होटल व्यवसायीका लागि अभिमुखीकरण गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले होटल व्यवसायी संघ चितवनसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । कार्यालयले होटल स्तरीकरणअन्तर्गत अभिमुखीकरण, अनुगमन तथा प्रमाणपत्र तथा स्टीकर प्रदान गर्ने गर्दछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले होटल व्यवसायलाई व्यवस्थित बनाउन तथा उनीहरुको अवस्थाबारे जानकारी लिनका लागि होटर स्तरीकरण गरिने बताउनुभयो ।
होटलहरुले अपनाउने खाद्य स्वच्छताको आधार तथा होटलहरुको पूर्वाधार हेरेर होटलको स्तरीकरण गरिने उहाँको भनाइ छ । खाद्य स्वच्छता सम्बन्धी २०७५ मा निर्देशिका जारी भएपछि होटल स्तरीकरणको काम थालनी भएको उहाँको भनाइ छ । तीन वर्षदेखि सञ्चालन हुँदै आएको कार्यक्रम वर्षमा तीन पटक हुने उहाँले बताउनुभयो ।
नारायणगढ र भरतपुर क्षेत्रका २५ वटा मध्यम र ठूला होटलका सञ्चालक तथा सेफ अभिमुकीकरणमा सहभागी रहेका खाद्य निरीक्षक प्रदीप काफ्लेले बताउनुभयो । होटल व्यवसायीहरुले होटल सञ्चालन गर्नुपर्ने पूर्वाधार तथा गुणस्करका बारेमा ज्ञान भए पनि थप जानकारी गराउन र निर्देशिकामा जारी भएका ५० वटा सूचकबारे बुझाउनका लागि अभिमुखीकरण गरिएको काफ्लेको भनाइ छ । स्तरीकरणमा परेका होटल व्यवसायको हरेक तीन महिनामा अनुगमन गरिने भन्दै काफ्लेले अभिमुखीकरणपछि छलफल गरेर होटलको स्तरीकरणका लागि अनुगमन गरिने बताउनुभयो ।