गण्डकीमा समानुपातिक र प्रत्यक्ष सांसदको बजेट बाँडफाँट समान

Desk
  |   
प्रकाशित मिति: कार्तिक ०५, २०७८
142 Shares

पोखरा, ५ कात्तिक। प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदबीच पैसा बाँडफाँटमा यसअघि विभेद थियो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा विनियोजन गरिएको रकम प्रत्यक्षले धेरै र समानुपातिकले थोरै मात्र बाँड्न पाउँथे । यो वर्ष सरकारले कार्यविधि सच्याएर समान हैसियत बनाएको छ । अब सबै सांसदले बराबर बजेट बाँड्न पाउने भएका छन् ।

सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम शीर्षकमा ७२ करोड विनियोजन गरेको छ । यहाँ ३६ निर्वाचन क्षेत्र छन् । सबै क्षेत्रलाई दुई करोडका दरले विनियोजन गरिएको छ । तर, वितरण भने अब सम्बन्धित क्षेत्रका सांसदले बराबर बाँड्न पाउँछन् । ‘कुनै क्षेत्रमा चार सांसद हुनुहुन्छ । कतै एक जना मात्र हुनुहुन्छ । निर्वाचन क्षेत्रको पैसा दुई करोड नै हुन्छ । बाँडफाँट गर्दा सम्बन्धित क्षेत्रका माननीयले बराबर भाग पाउनुहुन्छ,’ सरकारका प्रवक्ता कुमार खड्काले भने, ‘क्षेत्रको बजेट घटबढ हुँदैन । वितरणमा सांसदअनुसार घटबढ हुन सक्छ ।’

यसअघि निर्वाचित र समानुपातिक सांसदबीच भागबण्डामा विवाद सिर्जना भएको थियो । सांसद संख्याको आधारमा एउटा निर्वाचन क्षेत्रमा एक जना समानुपातिक सांसद भए प्रत्यक्षलाई ७० र समानुपातिकलाई ३० प्रतिशत बजेट बाँड्ने अधिकार थियो । दुईभन्दा बढी समानुपातिक सांसद भएको क्षेत्रमा प्रत्यक्षलाई ६० र समानुपातिकलाई ४० प्रतिशत बजेट थियो । अब भने जति सांसद भए पनि दुई करोडलाई बराबर भाग लगाएर बाँडफाँट गर्न पाउने भएका छन् ।

गण्डकीको कास्की २ (ख) र बागलुङ १ (क) मा सबैभन्दा धेरै चार जना सांसद छन् । अधिकांशमा एक जना मात्र छन् । मन्त्रिपरिषद् बैठकले आर्थिक रूपमा कमजोर बिरामीहरूलाई उपचार खर्च दिने निर्णय पनि गरेको छ । सरकारले रोगको जटिलता हेरेर अधिकतम एक लाखसम्म आर्थिक सहयोग गर्ने गरेको छ ।

Desk
प्रकाशित मिति: कार्तिक ०५, २०७८
142 Shares
Footer ads