चितवनमा बन्दको प्रभाव आंशिक रूपमा (तस्वीर कथा)

चितवन, १० माघ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवनमा आंशिक रुपमा परेको छ ।
विप्लवको आह्वानमा भएको बन्दका कारण जिल्लाबाट छुट्ने लामा दूरीका सवारीका साधन सञ्चालन हुने सकेका छैनन् । तर, जिल्ला भित्र सञ्चालन हुने स्थानीय रुटका सवारी साधन, अन्यत्रबाट चितवन हुँदै बाहिरिने सवारी साधन, निजी सवारी साधन, मालबहाक ट्रक अटो भने निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । जिल्लाको महत्वपूर्ण चोक र बजार क्षेत्रमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जिल्लामा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताए । गुरुङकाले चितवन प्रहरीले सुरक्षाको अनुभूति प्रदान गर्ने भएकाले सवारी साधन निर्वाध रुपमा सञ्चालन गर्न सकिने बताए । यात्रुवाहक सवारी साधनलाई आवश्यकताअनुसारको सुरक्षा प्रदान गरिएको उनको भनाइ छ ।


बन्दलाई लक्षित गरेर नेपाल प्रहरीले चितवनमा अप्रिय घटना हुन नदिने उद्देश्यले मोबाइल पट्रोलिङ, पैदल गस्ती, मोटरसाइलक गस्तीलाई बढाएको छ । विप्लवले आह्वान गरेको बन्दका कारण जिल्लाबाट लामो दूरीका सवारी साधन सञ्चालन नहुँदा यात्रुहरु भने मर्कामा परेका छन् । जिल्लाको प्रमुख बजार क्षेत्र नारायणगढ, पोखरा बसपार्क, आँपटारीचोक, केन्द्रीय बस टर्मिनमा यात्रुहरु अलपत्र अवस्थामा देखिएका छन् ।