सहुलियत ऋण दिन नगरपालिका र बैंकबीच सम्झौता

नवलपुर, १० माघ ।

मध्यविन्दु नगरपालिका भित्रका बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन नगरपालिका र कृषि विकास बैंकबीच सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रममा समावेश गरिएको युवा स्वरोजगार कार्यक्रम सञ्चालनका लागि शुक्रबार मध्यविन्दु नगरपालिका र कृषि विकाश बैंकबी द्विपक्षीय सम्झौता भएको हो ।
मध्यविन्दु नगरपालिकाको सातौँ नगर सभाबाट पारित चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम एवं बजेटमा वैदेशिक फिर्ती युवा स्वरोजगार कार्यक्रमको लागि १ करोड ५० लाख रुपैयाँ रकम विनियोजन गरेकोमा सो रकम कृषि विकास बैंकमा जमानीको रुपमा राखेर यो वर्ष ३ करोड रुपैयाँ बराबरको ऋण प्रवाह गरिने सम्झौता भएको छ ।
मध्यविन्दु नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख चन्द्र बहादुर राना, मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा तथा कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराका प्रबन्धक रघुनाथ न्यौपाने, कृषि विकास बैंक लिमिटेड कावासोती शाखाका प्रमुख भुवनेश्वर पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो कार्यक्रम मार्फत वैदेशिक रोजगारीबाट फर्किएका एवं स्वदेशमै केही उद्यम गर्न चाहाने युवाहरुलाई सहुलियत रुपमा ऋण उपलब्ध गराइने मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर रानाले बताए । कृषि विकास बैंकमा मध्यविन्दु नगरपालिकाले १ कारोड ५० लाख रुपैयाँ रकम धरौटी वापत जम्मा गरेको छ भने बैंकले पनि सोही बराबरको रकम जम्मा गरेर ३ करोड रुपैयाँ पु¥याइएको नगर प्रमुख रानाले बताए ।
यस कार्यक्रम मार्फत न्युनतम ५० हजार रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म ऋण पाउने नगर प्रमुख रानाले बताए । आफ्नै गाउँमा केही उद्यम गर्न चाहने व्यक्तिहरुका लागि नगरपालिका र बैंकबीच गरिएको समझदारी फलदाइ हुने कृषि विकास बैंक लि. गण्डकी प्रदेश कार्यालय पोखराका प्रकन्धक रघुनाथ न्यौपानेले बताए । सहुलित कर्जा लिएर नतिर्ने प्रवृत्ति रोक्नका लागि पनि नगरपालिकासँगको सहकार्य प्रभावकारी हुने विश्वास रहेको न्यौपानेले बताए ।
वैदेशिक फिर्ती युवा स्वरोजगार कार्यक्रम नामाकरण गरिए पनि यो योजना मार्फत विदेश नगएका वा जान नचाहाने युवाहरुलाई पनि समावेश गर्ने लक्ष लिइएको मध्यविन्दु नगरपालिका उपप्रमुख ओमकुमारी महतोले जानकारी दिइन् । मध्यविन्दु नगपालिका भित्रका युवाहरुलाई आफ्नै भूमिमा स्वरोजगार बनाउनका लागि सीप, प्रविधि र लगानी उपलब्ध गराउने उपप्रमुख महतोले बताइन् । यस कार्यक्रमका लागि कार्यविधि बनाएर प्रकृया सुरु गरिएको छ ।
मध्यविन्दु नगरपालिकाले नगर भित्रका कर्जा लिन इच्छुक व्यक्तिको छनोट गरि जमानी बसेर कृषि विकास बैंकमा ऋणका लागि सिफारीस गर्नेछ । सोही सिफारीसका आधारमा बैंकले कर्जा प्रदान गर्नेछ भने यसको नियमन र सहजीकरण दुवै पक्षले गर्ने जनाइएको छ ।