ओलीको दम्भ र हठका कारण पार्टीमा गम्भीर संकट देखियो – नेपाल
काठमाडौं, १० बैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ र हठका कारण पार्टीमा गम्भीर संकट देखिएको बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले जनकपुरधामस्थित मिथिला भवनमा शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै नेपालले दम्भ र हठका कारण पार्टीमा गम्भीर संकट देखिएको बताएका हुन् ।
ओली आफ्नो दम्भबाट पछाडि हट्न नचाहेका कारण पार्टी र लोकतन्त्र नै संकटमा परेको भन्दै नेपालले भने, ‘ओली आफ्नो दम्भबाट पछाडि हट्न चाहेनन् र बालुवाटारको बालुवामा तेल छैन जति पेले पनि तेल निस्किने अवस्था छैन ।’
ओलीको दम्भ र हठका कारण पार्टीको एकता बचाउन कठिन रहेको र ओलीसँग जति भेटघाट गरेपनि सकारात्मक हुन नसकेको नेपालको भनाइ थियो ।
ओली हठी भएकाले नै डिनर छाडेर बामदेव गौतम हिंडेको र पार्टी एकताका लागि ओलीले यसअघि गरेका सबै निर्णय फिर्ता लिनुपर्नेमा नेपालले जोड दिए ।
आफूले पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन निरन्तर प्रयास गरेपनि ओलीले नचाहेको नेपालको आरोप थियो । त्यस्तै अल्पतमा परेपछि ओलीले बाटो हिड्ने बटुवालाई केन्द्रीय सदस्य बनाएको पनि उनले बताए ।