कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै देवघाटको नीति तथा कार्यक्रम प्रस्तुत
देवघाट, १० असार ।
देशकै मध्यभागमा रहेको देवघाट गाउँपालिको आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले आठौँ गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देवघाटको विकासका लागि कृषि र पर्यटनलाई प्राथमिकता राखिएको बताउनुभयो ।
गाउँपालिका भित्र कृषि मार्फत एक वडा एक नमूना गाउँ कार्यक्रम, फलफूलका लागि प्राविधिक सहयोग, मल, बिउ, भिटामिन, तालिमको व्यवस्था गर्दै कृषिका लागि सिँचाई कार्यक्रम सञ्चालन गरिने थापाले बताउनुभयो । सुख्खा एवं बाँझो जग्गामा कृषिलाई प्रोत्साहन गरी कृषि उत्पादन र उत्पादकत्व बढाइने, कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिने थापाको भनाइ थियो । कृषि सहकारीमार्फत सामुहिक खेती, प्राङ्गारिक खाद्य उत्पादन तथा करेसाबारी प्रबद्र्धनलाई प्रोत्साहन गरिने उहाँले बताउनुभयो ।
कृषिलाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्न एक गाउँ एक उत्पादन तथा कृषि पकेट क्षेत्रको विकास गरिने, अर्गानिक तरकारी तथा फलफूल पकेट क्षेत्र बनाइने, कृषक दर्ता गरी कृषक परिचयपत्र वितरण गरिने थापाले बताउनुभयो । त्यस्तै, गाउँपालिकाको वडा नम्बर १ मा पशु विकास फार्ममा ‘प्राङ्गारिक खेती भान्सा नै औषधालय’ नमूना कार्यक्रम सञ्चालन गरिने अध्यक्ष थापाको भनाइ थियो ।
गाउँपालिकाले पर्यटनलाई धार्मिक क्षेत्रसँग जोड्दै अघि बढ्नेगरी नीति तथा कार्यक्रम ल्याएको भन्दै अध्यक्ष थापाले देवघाटको वडा नम्बर ५लाई धार्मिक ग्राम र अन्य वडाहरुलाई सांस्कृतिक ग्रामको रुपमा प्रचार प्रसार गरिने बताउनुभयो । धार्मिकस्थल भएका अन्य जिल्लाका पालिकाहरुसँग धार्मिक भगिनी सम्बन्ध विस्तार गर्ने कार्यक्रमलाई अगाडि बढाउने थापाको भनाइ छ । देवघाट गाउँपालिकालाई पर्यटकीय हरित क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।
कालिगण्डकी र त्रिशूली नदी किनारमा मोटरबोट सञ्चालन तथा आरामदायी रिसोर्ट तथा अन्य सिर्जनात्मक कार्य गर्नका लागि आवश्यक लगानी भित्र्याइने थापाले बताउनुभयो । देवघाटको कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा पालिकास्तरीय धार्मिक पर्यटन मेला गराइने, होमस्टे (घरबास) सञ्चालनका लागि प्रोत्साहन गर्ने, गाउँपालिकाको रमणीय स्थल घण्टाचुलीमा पर्यटन पूर्वाधारको विकास गर्ने, छरछरे झरनालाई वन, प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा पर्यटकीय दृष्टिकोणबाट विकास गरिने उहाँले बताउनुभयो । गाउँपालिकाभित्र मदिरा निषेध गर्ने व्यवस्था गरिने, सबै माध्यमिक विद्यालयमा अनिवार्य रुपमा विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा हुनुपर्ने लगायतका विषयलाई समेत नीति तथा कार्यक्रममा समावेश गरिएको थापाले बताउनुभयो ।
त्यस्तै, देवघाट स्वास्थ्य चौकीको स्तर वृद्धि गरी १० शय्याको अस्प्ताल बनाउने, गर्भवतीका लागि प्रत्येक महिनाको एक पटक स्वास्थ्य जाँच गराउँदा रु १०० खाजा खर्च प्रदान गरिने, गाउँपालिकाभित्र प्रसूति गृहलाई २४ सै घण्टा सञ्चालन गर्ने गरी सुविधासम्पन्न गराइने, पालिका भित्रका सबै सरकारी र निजी स्वास्थ्य संस्था ३६५ दिन नै सञ्चालन गर्नुपर्ने व्यवस्था गरिने थापाले बताउनुभयो ।
बुधबार गाउँ सभामा अध्यक्ष थापाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कार्यपालिका सदस्यहरुले आफ्नो धारणा राख्नका लागि समय मागगरेपछि गाउँ सभाको सभाध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष आज मध्यान्न १२ बजेसम्मका लागि गाउँ सभा स्थगित गर्नुभएको छ । देवघाट गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रहरुलाई समेट्नेगरी करिब रु ५० करोड बराबरको बजेट ल्याउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो । गाउँपालिकाको आन्तरिक आय न्यून भएकाले आय बढाउनका लागि सर्वदलीय छलफल गरेर अगाडि बढिने थापाको भनाइ छ ।